दुबईमा घरेलु कामदारको सुरक्षा अवस्था बुझ्दै श्रममन्त्री श्रेष्ठ

काठमाडौं (अस) । संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । मन्त्रीको टोलीले दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवाप्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षा प्रत्याभूतिलगायतबारे जानकारी लिएको हो । सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताए । उनीहरुले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउनुपूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । सरकारले ०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ । कानुनी बाटोबाट कामदार पठाउँदा भन्दा गैरकानुनी बाटोबाट जाँदा जोखिम बढेकाले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा जाने श्रमिकलाई सुरक्षा प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवालासँग छलफल गर्दै आएका छन् । गत मंगलबार नेपाल–युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।