आफैँले अनुसन्धान गरेर दायर गरेका मुद्दा पनि किन हार्छ अख्तियार ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दा जित्ने प्रतिशत अहिले दिनदिनै ओरालो लागिरहेको छ । कुनै समय आफूले दायर गरेका मुद्दामध्ये ८८ प्रतिशतसम्म मुद्दा जितेको विरासत भएको अख्तियारले गत आर्थिक वर्षमा जम्मा ३८ प्रतिशत मुद्दा मात्रै जित्यो ।अर्थात्, आफूले प्रमाण जुटाएर, लामो समय लगाएर अनुसन्धान गरेर दायर गरेका मुद्दामा पनि अख्तियार हारिरहेको छ । यसले अख्तियारको सफलता दर कम भइरहेको देखाउँछ । चालु आर्थिक वर्ष २०७९/८० मा अख्तियार नयाँ मुद्दा दायर गर्नु भन्दा पनि विगतका मुद्दामा आफ्नो दाबी अनुसार फैसला नआएका मुद्दामा पुनरावेदन जाँदै ठिक भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा नयाँ मुद्दा ४० वटाको हाराहारीमा दायर गरेको अख्तियारले यो अवधिमा १२४ वटा पुनरावेदन दर्ता गरेको छ ।कनि घट्दैछ अख्तियारको सफलता दर ?मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनको आयोजना गरेर सफलता दर कम हुँदै गएको अथवा दायर गरिएका मुद्दाहरु हार्नु परेको कारणबारे केही दाबी भने पेश गरेको छ । सर्वोच्च अदालतले विभिन्न मितिमा गरेका फैसलालाई देखाउँदै विशेष अदालतले प्रमाण पुग्ने मुद्दाहरु समेत खारेज गर्न थालेको आरोप अख्तियारको छ । घुमाउरो गरी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोही कारण आयोग नयाँ मुद्दामा ध्यान दिन नपाई पुनरावेदनलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यतामा रहेको दाबी गरे । यतिसम्म की, रङ्गेहात घुससहित समातिएका व्यक्तिहरु विरुद्द दायर भएका मुद्दासमेत हार्न थालिएपछि अख्तियार छक्क परेको छ । यद्यपी, सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७८ सालको सरुमा रंगेहात घुसका मुद्दामा अख्तियारले प्रमाणको सिर्जना गर्न नसक्ने व्याख्या गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली–२०५९ को नियम ३० खारेज गरेको थियो ।जसका कारण धेरैजसो रंगेहात घुससहित समातिएका व्यक्तिविरुद्दका मुद्दा खारेज भएका छन् । यसै कारण अख्तियारको सफलता दरमा अस्वभाविक गिरावट आएको हो । अख्तियारले पुनरावेदन गरेका १२४ वटा मुद्दाबाट ४२ करोड १६ लाख रुपैयाँ विगो मागदाबी गरिएको छ । पुनरावेदन गरेका मुद्दामा पनि घुस/रिसवतकै मुद्दा धेरै छन् । गैरकानुनी सम्पत्ति आर्जन, राजस्व चुहावट र नक्कली बैंक ग्यारेन्टीका एकाध मुद्दामा पनि अख्तियारले पनरावेदन दर्ता गराएको छ ।