बागमती र गण्डकीमा दर्ता सवारीलाई अनिवार्य इम्बोस्ड प्लेट हाल्न आग्रह, नहाल्नेलाई कारवाही

सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनलाई २०७९ असार मसान्त भित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि मिति २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएकोमा सो को कार्यन्वयन नगरिएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विभागले वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरूमा अनिवार्य रूपमा इम्बोस्ड प्लेट हाल्न सवारीधनीहरुलाई आग्रह गरेको छ । बागमती र गण्डकी प्रदेशका कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा मिति २०७९ साउन १ पश्चात ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने विभागले जनाएको छ ।  तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने विभागले  चेतावनी दिएको छ।यस्तो छ विभागले जारी गरेको सूचना:  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची-२, भाग-२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न नामाकरण भइसकेका प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीहरुमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि मिति २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको र यस विभागबाट बागमती प्रदेशको एकान्तकुना- ललितपुर र गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएकोमा ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा हाल सम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानून बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ। प्रचलित ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीहरुमा अबिलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन वागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुलाई यसै सूचना मार्फत जानकारी गराइएको छ। बागमती र गण्डकी प्रदेशका माथि उल्लिखित कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा मिति २०७९ साउन १ पश्चात ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।