माघ ८, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको ठ्याक्कै एक वर्ष भयो ।
बिहीवार उनी कार्यकालले एक वर्ष पूरा गरेको छ । यो एक वर्ष उनको लागि निकै व्यस्त र कठिन पनि रह्यो । कोरोना भाइरसको महामारी, उच्च महँगी, अफगानिस्तानसँग वर्षौदेखि युद्धको अन्त्य, ऐतिहासिक पूर्वाधार विधेयक पारित गराउनु उनले सामना गरेको कयौं चुनौतीहरुमध्ये केही थिए ।
कोरोना भाइरसको महामारीले अर्थतन्त्र थलिएको अर्थतन्त्र र अमेरिकी नागरिकहरुलाई टेवा दिन राहत कार्यक्रम र पूर्वाधार विधेयक पारित गरेर उनले शुरुमा राम्रै वाहवाही बटुलेका थिए । तर कोरोना महामारी घरेलु अर्थतन्त्रमा निरन्तर हाबी भने भइरह्यो । अफगानिस्तानबाट अमेरिकी सेनालाई झिक्ने निर्णयले उनको विदेश नीति अभिशप्त भएको छ ।
सत्ता सम्हाल्दा आधाभन्दा धेरै अमेरिकीले बाइडेन सरकारलाई समर्थन गरेका थिए ।
यो दर अहिले घटेर ४२ प्रतिशतमा आएको छ । हुन त जसले जति नै राम्रो काम गरेपनि उसले गरेको एउटा नराम्रो कामले धेरै चियो चर्चा र चासो पाउँछ । कोरोना भाइरसको महामारी बीच बाइडेन सरकार आर्थिक तथ्यांक उज्जवल राख्न धेरै हदसम्म सफल भएको छ ।
अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीबाट उब्रिदैंछ, बेरोजगारी घटेको छ, तलब बढेको छ, गत वर्ष भर ६४ लाख को कीर्तिमानी रोजगारी सृजना भएको छ । तर १९८२ यताकै उच्च स्तरमा उक्लिएको मुद्रास्फीति नियन्त्रण सरकारको टाउको दुखाईको विषय बनेको छ । सत्तामा बसेको एक वर्ष भइसक्दा बाइडेन सरकारप्रतिको जनसमर्थन दर घट्दो क्रममा छ । उपभोक्ता मनोबल पनि एक दशकभन्दा बढी समययताकै न्यून स्तरमा ओर्लिएको छ ।
बाइडेन नेतृत्वको सरकारको पहिलो एक वर्षमा आर्थिक अवस्थालाई निम्नानुसार हेर्न सकिन्छ :
१. महँगी
पछिल्लो समय महँगी बढेको छ । गत वर्ष उपभोक्ता मूल्य ७ प्रतिशतमा उक्लिएको छ । यो ४० वर्षयताकै उच्च हो । महामारीका कारण उत्पन्न आपूर्ति शृङ्खलामा समस्या र उच्च मागका कारण महँगी बढेको छ । यसले राष्ट्रपतिको बृहत आकारको खर्च योजनालाई धक्का दिइरहेको छ ।
बाइडेनले तलबमा भएको वृद्धिलाई आर्थिक पुनःबहालीको संकेतको रुपमा औंल्याइरहेका छन् । तर महँगीका कारण घरपरिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो हुँदै गइरहेको अवस्थालाई तलब वृद्धिले ढाकछोप गर्न नसक्ने देखिएको छ ।
केन्द्रीय बैंक फेडरल रिजर्भले एक दशकभन्दा लामो समयसम्म शून्यको स्तरमा रहेको ब्याजदर यो वर्ष बढाउनेबारे छलफल गरिरहेको छ । महँगी नियन्त्रण गर्न फेडलाई तत्कालै कदम चाल्न अनुरोध गर्नेको भिड बढेको छ ।
२. श्रम बजार
अमेरिकामा बेरोजगारी कोभिड–१९ को महामारी देखिनु पूर्वको स्तर नजिक आएको छ । बाइडेनले सत्ता सम्हाल्नु अघि अमेरिकी बेरोजगारी दर ६ दशमलव ७ प्रतिशत थियो । यो अहिले ३ दशमलव ९ प्रतिशत आसपास छ । अहिले कर्मचारीको खोजीमा १ करोड विज्ञापन आइरहेका छन् । तर अहिले रोजगारदाताको लागि समस्या ठूलो स्तरमा कर्मचारीहरुले दिइरहेको राजीनामा भएको छ । नोभेम्बरमा मात्रै ४५ लाख अमेरिकीहरुले जागिर छाडेका थिए । बाइडेनले सत्ता सम्हाल्दा २ दशमलव ३ प्रतिशत रहेको मासिक जागिर छाड्नेको अनुपात बढेर अहिले ३ प्रतिशतको कीर्तिमानी उचाईमा उक्लिएको छ ।
३. ऊर्जा अभाव
गत वर्षको जनवरी २० यता कच्चा तेलको भाउ ६२ प्रतिशतले बढेर प्रतिब्यारेल ८६ डलरमाथि उक्लिएको छ । अहिले तेलको भाउ सन् २०१४ यताकै उच्च स्तरमा छ । गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको भाउ झन्डै दोब्बर भएको छ । गत वर्षको हिउँदको तुलनामा यस वर्ष प्राकृतिक ग्याँस ३० प्रतिशत महँगो हुने अपेक्षा गरिएको छ ।
४. आर्थिक वृद्धिदर
आगामी हप्ता सार्वजनिक हुने क्रममा रहेको तथ्यांकले अमेरिकी अर्थतन्त्र सन् २०२१ मा ५ दशमलव ६ प्रतिशतले बढेको देखाउने अनुमान गरिएको छ । अर्थतन्त्रमा एकै वर्षमा भएको यो वृद्धि सन् १९८४ यताकै उच्च हुनेछ । सन् २०२१ को पहिलो अर्धवार्षिक अवधियता तीव्र आर्थिक वृद्धिदरमा सुस्ती आएको छ । वर्षको पहिलो २ त्रैमासमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा धेरै थिए । तर तेस्रो त्रैमासमा यो २ प्रतिशतमा सुस्तायो । बाइडेनले अर्थतन्त्र तीव्र दरमा बढिरहेको समयमा १९ खर्ब डलरको राहत योजना ल्याए । त्यति बेला सो योजना नचाहिने विश्लेषकहरुले बताएका छन् । सो राहत योजना मुख्य नीतिगत त्रुटी भएको कंग्रेशनल बजेट अफिशका पूर्व निर्देशक होल्ट्ज–इआकिन बताउँछन् ।
५. शेयर
बाइडेन निवार्चित भए भने शेयर बजार धराशयी हुने चेतावनी सन् २०२० को राष्ट्रपति निर्वाचनमा बाइडेनका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पले दिएका थिए । तर उनको सो भनाइ चुनावी हौवा मात्रै साबित भएको छ । बाइडेनको कार्यकालको पहिलो वर्षमा एसएन्डपी १९ प्रतिशतले बढेको छ । तर आफ्ना पूर्ववर्तिले झैं यसको धाक लगाउन चाहीं बाइडेन अनिच्छिुक देखिएका छन् । हुन् त शेयर बजारको प्रदर्शन सधैं राम्रै हुन्छ भनेर ठोकुवा गर्न सकिदैंन । त्यसलै पनि शेयर बजारमा आएको वृद्धिको श्रेय उनले लिन नचाहेका होलान् । जनवरीको अहिलेसम्मको अवधिमा एसएण्डपी ५ प्रतिशतले घटेको छ ।
६. ऋणपत्रको प्रतिफल
मुद्रास्फीतिमा भइरहेको वृद्धि र ब्याजदर बढाइने सम्भावनाले ऋणपत्रको प्रतिफल अहिले बढेर महामारी शुरुभएयताकै उच्च बिन्दुमा उक्लिएको छ । २ वर्षे ट्रेजरीको प्रतिफल यो हप्ता १ प्रतिशत माथि पुगेको छ । बाइडेनले सत्ता सम्हाल्दा यो शून्य दशमलव १३ प्रतिशत मात्रै थियो । अल्पकालीन र दीर्घकालीन ऋणपत्रको प्रतिफलबीचको न्यून स्प्रेड दरले आर्थिक अनिश्चियतर्फ इंगित गर्दछ । यद्यपि, १० वर्षे ऋणपत्रको प्रतिफल भने यस वर्ष बढेर २ प्रतिशतभन्दा माथि उक्लिने अर्थशास्त्रीहरुको अनुमान छ ।
७. उपभोक्ता मनोबल
अहिले अमेरिकी शेयर बजारमा उच्च वृद्धि देखिएको छ । रोजगारीको अवस्था पनि मजबूत नै छ । तर पनि अमेरिकीहरुमा एक दशकमा कहिल्यै नदेखिएको निराशा देखिएको छ । मिशिगन विश्वविद्यालयले गरेको मासिक उपभोक्ता मनोबल सर्वेक्षणअनुसार सन् २०२१ को नोभेम्बरमा मनोबल सूचक ६७ दशमलव ४ अंक रहेको थियो ।
यो महीनाको शुरुमा यो थोरै सुध्रिएर ६८ दशमलव ८ अंकमा पुगेको छ । बाइडेनले गत वर्षको जनवरीमा कार्यकाल सम्हाल्दा यो सूचक ७९ अंकमा थियो । उनको कार्यकालको पहिलो केही महीनामा यसमा वृद्धि पनि भएको थियो । तर मुद्रास्फीति र कोभिडको भ्यारिएन्टहरु बढेसँगै महामारी कहिले पनि अन्त्य नहुने अवस्था देखिन थालेपछि उपभोक्ता मनोबलमा तीव्र कमी आयो ।
८. व्यवसायिक वातावरण
सन् २०२० मा अदालती संरक्षण माग्ने ७ हजार १२९ अमेरिकी कम्पनीहरुमा हर्ट्ज, जेसीपेन्नी, चिसापिका इनर्जी आदि थिए । उक्त वर्ष अमेरिकामा टाटपल्टिने कम्पनीको संख्या ८ वर्षकै उच्च स्तरमा उक्लिएको थियो ।
कम्पनीहरु धराशयी बन्ने क्रम सन् २०२१ मा निकै हदसम्म रोकियो । सरकारी खर्चमा भएको वृद्धि र आकस्मिक कर्जा माफी कार्यक्रमहरुबाट साना व्यवसायहरुले टेवा पाएपछि गत वर्षभर ३ हजार ७२४ ओटा कम्पनीहरुले मात्रै अदालती संरक्षणका लागि निवेदन दिएका छन् । यो कम्तिमा पनि चार दशकयताकै न्यून हो ।
(एजेन्सीहरुको सहयोगमा) ।