काठमाडौं । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो । गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको प्रहरीदे जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेका थिए ।
सुरुमा चोकमा प्रदर्शन गरेका स्थानीय पछि इलाका प्रहरी कार्यालयमै प्रवेश गरेको र प्रहरीलाई नै तानेर घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको थियो । स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ । अहिले पनि त्यहाँ प्रदर्शन भइरहेको छ भने प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएको छ ।