खोटाङ । खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैंचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले बताएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्त्वपूर्ण नगदेबालीको रूपमा रहेको अलैंची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।
कुनै समयमा राम्रो मूल्यमा विक्री हुने गरेको कारण अलैंची खेतीमा हौसिएर जिल्लाका किसानले अलैंची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा विक्री हुने गरेको अलैंची अहिले ८७५ देखि एक हजार रुपैयाँसम्ममा मात्र विक्री हुने गरेको किसानको भनाइ छ ।
मौसम अनुकूल र रोगको प्रकोप कम भएकाले यो वर्ष जिल्लामा अलैंचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा अलैंची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीवाट जिल्लामा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।
यहाँ उत्पादित अधिकांश अलैंची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने योजनामा पनि छन् । अलैंची खरिद गर्न ठेकेदारले ट्र्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती शुरू गरेका किसानले वर्षेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । रासस