चैत १९, काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ ।
नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा जर्मनी र स्पेन एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ ।
उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् ।
सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ ।
लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् ।
विश्व नम्बर एक ब्राजिलसहित स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन समूह ‘जी’ मा रहेको छ ।
आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् ।
यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् ।
कुन समूहमा कुन - कुन राष्ट्र ?
समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड)
समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु)
समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड)
समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना