च्याउ खेतीमा छथर जोरपाटीका युवाको आकर्षण बढ्दै

असार २९, धनकुटा । धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतार लगायतका देशमा भौतारिँदै पुगे । तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी उनी दुई ओटै देशमा ६ महीनाभन्दा बढी बस्न सकेनन् ।  मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महीनामा फर्कनु परेको उनी बताउँछन् । बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन् । विदेशमा ६ महीना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन् । बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको बताउँछन् । त्यसपछि उनी स्वदेश फर्किएर च्याउखेतीमा लागेका छन् ।  विदेश जाँदा लाग्ने खर्च, श्रम र मेहेनतले गाउँमै राम्रो आम्दानी लिन सकिने पाठ बस्नेतलाई च्याउखेतीले सिकाएको छ । ६ ओटा ठूला टनेल बनाएर बस्नेतले च्याउखेती गर्दै आएका छन् । विष्णु एग्रोफर्म दर्ता गरेर च्याउखेत शुरु गरेका उनको दैनिकी अचेल च्याउ उत्पादन र रेखदेमै बित्ने गरेको छ ।  २ वर्ष अघिबाट शुरु गरेको च्याउ खेतिमा ५ लाखबाट लगानी शुरु गरेका बस्नेतले हाल ३० लाखको लगानी पुगेको बताउँछन् । गत वर्षबाट कोरोनाका कारणले शुरु भएको लकडाउनले उनको च्याउ खेतीमा केही असर भएपनि हाल दैनिक ३०० केजी उत्पादन गर्दै आएको बताउँछन् । विदेशमा १६ घण्टा खट्दा १० हजार बचाउन गाह्रो भएको बताउने बस्नेतले अहिले स्वदेशमै गरेको आम्दानीमा निकै उत्साहित देखिन्छन् ।  च्याउ उत्पादन भएपछि बजारको समस्या नभएको उनको भनाइ छ । उनले उत्पादन गरेको च्याउ धनकुटा र तेह्रथुम जिल्लामा विक्री भइरहेको छ । च्याउको माग तराईका जिल्लाबाट भइरहेको भएपनि पुयाउन नसकिएको उनको भनाइ छ । उनले च्याउ प्रति केजी खुद्रामा २०० रुपैयाँ र होलसेल १५० रुपैयाँमा विक्री भइरहेको बस्नेतको भनाइ छ । यो पटकको उत्पादनमा लगानी भएको ३० लाख खर्च कटाएर ६ लाख आम्दानी हुने अनुमान बस्नेतले बताए । उनले युवा लक्ष्यित च्याउ खेती कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र धनकुटाबाट १ लाख रुपैयाँ अनुदान पाएको बताए । गाउँमै शुरु गरेको फर्ममा १० जना युवाहरूले रोजगारीसमेत पाएका छन् ।  गाउँमै रोजगारी पाएपछि परिवार धान्न र घरखर्च चलाउन सहज भएको स्थानीय भगिरथ बस्नेतको भनाइ छ । उनले रोजगारीमा खोजिमा भौतारिनु परेको अवस्था अहिले गाउँमा च्याउ फार्म सञ्चालन भएपछि रोजगारको समस्या नभएको बताए । घरनजिकै व्यवसाय शुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको चुइन्द्रकी श्रीमति टीका बस्नेतको भनाइ छ । घरैको काम गरेर व्यवसाय धानिरहेको टीकाको भनाइ छ ।  स्वदेशमै व्यवसाय गर्दा पुरुष विदेश जाने र महिला एक्लै बस्नुपर्ने अवस्था अन्त्य भएको उनले बताइन् । ‘श्रीमान श्रीमतिसँगै बसेर व्यवसाय गर्न पाउँदा सामाजिक काम पनि गर्न पाएका छौं, निकै आनन्दित महशुुस भएको छ ।’ उनले भनिन् ‘अरुको देशमा दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्दा भिन्दै आनन्द आउने रहेछ ।’ चुईन्द्रको च्याउखेती देखेर यहाँका बेरोजगार युवाहरूले समेत सामूहिक च्याउखेती गर्न थालेका छन् । उपयुक्त प्रविधि र सहुलियत ऋण उपलब्ध गराए कृषकहरूले खेतीलाई अझ विस्तार गर्ने सोच बनाएको उनीहरुले बताए ।  

सम्बन्धित सामग्री

व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

काठमाडौं, १४ माघ । कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त छन् । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उनको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ । श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई […]