नेपालको कुल बजेट बराबरको रकम कनेक्ट आईपीएसबाट मात्रै भुक्तानी ! क्यूआरकोड प्रयोगकर्ता ४७१% बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार भुक्तानी सेवा प्रदायक कनेक्ट आईपीएसमार्फत १६ खर्ब रुपैयाँभन्दा धेरै रकम ट्रान्सफर भएको छ । जुन नेपालको चालू आर्थिक वर्षको बजेट बराबरको रकम हो । चालू आर्थिक वर्षको ७ महीनामा २ करोड १६ लाख ३३ हजार ६२७ पटक कनेक्ट आईपीएसमार्फत कारोबार गरिएको । उक्त कारोबारमा १६ खर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, गत आर्थिक वर्षको पहिलो ७ महीनामा ७९ लाख ८२ हजार पटकको कारोबारमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको रकम ट्रान्सफर गरिएको थियो ।गत आर्थिक वर्षको ७ महीनाको तुलनामा यो आर्थिक वर्षको ७ महीनामा कनेक्ट आईपीएसबाट भुक्तानी गर्नेको संख्या १८२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । क्यूआर कोडबाट भुक्तानी गर्ने करीब ५०० प्रतिशत बढे प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८\७९ को पहिलो ७ महीनामा १ करोड ११ लाख २४ हजार १०९ पटक क्यूआर कोडमा आधारित कारोबार भएको छ । उक्त कारोबारमा ४२ अर्ब ७ करोड रुपैयाँ रकम ट्रान्सफर भएको छ । गत वर्षको सोही अवधीमा २१ लाख ३२ हजार ६४९ पटकमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्याकँ छ । गत आर्थिक वर्षको पहिलो ७ महीनाको तुलनामा यो वर्षको सोही अवधीमा क्यूआर कोडबाट भुक्तानी गर्नेको संख्या ४७१ प्रतिशतले बढेको हो । पछिल्लो समय कोरोना महामारी बढ्दा त्यसको सबैभन्दा धेरै फाइदा अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकले उठाएका छन् । कोभिड कालको बन्दाबन्दीमा अनलाइन भुक्तानी गर्नैपर्ने बाध्यता आइपरेपछि यसको प्रयोगकर्ताको संख्या लोभलाग्दो तरिकाले वृद्धि भइरहेको छ । यसै बीच विभिन्न सरकारी निकायले पनि आफ्नो भुक्तानी अनलाइनबाटै लिन शुरू गरेका छन् । कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था कार्यालय, राजस्व विभागलगायतका कार्यालयले आफ्ना सेवाहरु अनलाइन भुक्तानीबाटै दिने व्यवस्था गरेका छन् ।