इन्टरमिटेन्ट फास्टिङ’ फाइदा कि बेफाइदा

आजभोलि युवादेखि पाका मानिसमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (पेट खाली राखी खाना खाने समयतालिका मिलाउने) प्रचलन बढेको छ । यसो गर्दा शरीरको तौल सन्तुलनमा राख्न, शरीरमा हुने रासायनिक प्रतिक्रिया सन्तुलनमा राख्न, निरोगी हुन र अन्ततः दीर्घ जीवन प्राप्त गने सकिने विश्वास गरिन्छ । हाम्रा पुर्खाले विभिन्न समयमा फरक–फरक प्रकृतिका फास्टिङ (व्रत) गर्दै आएकै हुन् । यसका पछाडि कहीँ कतै खाद्य अभाव पनि कारण थियो होला तर अधिकांश व्रतहरू धार्मिकतासँग जोडेर मनाएको पाइन्छ । धार्मिकतासँग जोड्नु तत्कालीन समाजको संरचनाका कारण बढी प्रभावकारी हुने ठानेर गरिएको पनि हुन सक्छ तर यसको मूल आसय भने स्वास्थ्यसँग गाँसिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । वर्षमा खास खास दिनमा गरिने व्रतका अलावा साप्ताहिक र पाक्षिक रूपमा (जस्तै ः एकादशी, पूर्णिमा, औँशीमा) व्रत बस्ने परम्पराकै आधुनिक रूप हुन सक्छ– इन्टरमिटेन्ट फास्टिङ । हाम्रो नयाँ पुस्ताले त्यसको पछाडिको विज्ञानको खोजी गरेन बरु पश्चिमा देशहरूले सुझाएको कुरालाई खुबै छिटो नक्कल गर्न उद्यत भयो । सहर–बजारतिर अहिले धेरै बेर भोकै बस्नुपर्ने बाध्यता छ्रैन, खल्तीमा पैसा छ भने रोजीरोजी खान पाइन्छ । यतिसम्म कि अहिले साधारण मध्यम तथा न्यून आय भएका मानिसले समेत बजारमा गएर रोजीरोजी संसारभरका पकवानहरूको स्वाद पाउन सक्छ । यस्तो सुविधा केही शताब्दी अघिसम्म ठूला राजा–महाराजाहरूलाई समेत सहज थिएन । जनसाधारणलाई हामीले खाद्यान्नमा धेरै सुरक्षा प्रत्याभूत गरिसक्यौँ । कहीँ त्यो उपलब्धिले अहिले मोटोपना र दीर्घरोगका रूपमा प्रतिघात गरेको त होइन ? पराम्परागत ग्रामीण समाजमा खाद्य सुरक्षा भएका मानिसले पनि तुरुन्तै खान मिल्ने (फास्टफुड) खानाको सहज उपलब्धता थिएन । अधिकांश मानिस दिनभरि शारीरिक श्रम गर्थे र धेरैबेर भोकै रहेपछि मात्र खाना (स्लोफुड) बनाएर खानुपर्ने हुन्थ्यो