नेपालमा निर्मित पूर्वाधारको उपयोगिताका बारेमा सरकारले गरेको अनुमान र अध्ययन हचुवा भएको कुरा भैरहवा विमानस्थलले प्रमाणित गरेको छ । अहिले त्यहाँबाट अन्तरराष्ट्रिय उडान ठप्प छ भने यसले कसरी ऋणको साँवा र किस्ता तिर्ला भनेर चिन्ता गर्न पनि थालिएको छ । हुन पनि ऋणबाट बनेका यस्ता आयोजना राम्ररी सञ्चालन हुन सकेनन् भने त्यसले मुलुकलाई खोक्रो बनाउने सम्भावना हुन्छ ।
भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बन्दा स्थानीयमा जस्तो उत्साह देखिएको थियो, जसरी होटलहरू खुलेका थिए तिनमा अहिले निराशा देखिएको छ । राज्यको लगानीमात्रै होइन यसले व्यवसायीहरूको लगानीसमेत समस्यामा पर्ने देखिन्छ ।
एउटा मात्रै वायुसेवाले अन्तरराष्ट्रिय उडान गरेको भैरहवा विमानस्थलमा अहिले पनि मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटीका कारण जहाज अवतरण गर्न नसकेपछि उडान नै बन्द गरिएको छ । मौसममा सुधार आयो भने १५/२० दिनमा उडान नियमित हुन सक्छ । उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो । यो कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ ।
भारत सरकारले जडान भइसकेको आईएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण भिजिबिलिटी कम हुँदा यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुन नसकेको हो । अहिले प्रवेश विन्दु विस्तार र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस प्रविधि सञ्चालनमा ल्याउन पर्यटनमन्त्रीले प्रयास थालेका छन् । उनले भारतीय राजदूतसँग यसबारे छलफल गरेपछि भारतसँग छलफल अगाडि बढ्ने संकेत देखिएको हो । तर, भारतले सजिलै नेपालको प्रस्ताव स्वीकार्ने सम्भावना कमै छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि मुलुकमा दुईओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । तर, वर्षौंदेखि सिमरा प्रवेश विन्दुमात्र खुला भएका कारण विभिन्न मुलुकबाट नेपाल आउने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई दूरी र सञ्चालनको हिसाबले असहज हुँदै आएको छ । सरकारले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनओटै विन्दुका लागि कूटनीतिक तवरले भारतसँग पहल गर्दै आए पनि भारतले यसमा चासो दिएको छैन । अहिलेलाई कुनै एक थप प्रवेश विन्दु दिए भैरहवा विमानस्थल सेतो हात्ती बन्ने थिएन । तर, सामान्य प्रयासले भारतले सजिलै नेपालको माग पूरा गर्ने सम्भावना कमै देखिन्छ ।
मोहन महर्जन
कीर्तिपुर, काठमाडौं