लोकतन्त्रको प्राणवायु

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र नेपालको संविधान जारी भएपछि २०७९ सालमा दोस्रो पटक स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा तीन तहकै निर्वाचन हुँदै छ । देश चुनावमय हुँदै छ । लोकतन्त्रको सुदृढीकरण, समावेशी पद्धतिको सबलीकरण तथा देशको निर्वाचन प्रक्रियाका नवीन आयामका सन्दर्भमा विस्तृत तथ्यहरू यस आलेखमार्फत प्रस्ट पार्ने कोसिस गरिएको छ । लोकतन्त्र र निर्वाचनको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अझ प्रस्ट रूपमा भन्दा लोकतन्त्रको प्राणवायु निर्वाचन नै हो । निर्वाचनबिना लोकतन्त्र बाँच्न सक्दैन । यसले राम्ररी काम पनि गर्न सक्दैन । लोकतन्त्र जनता आफैँले छानेका प्रतिनिधिले शासन गर्ने व्यवस्था भएकाले पनि राज्य र जनताबीचको पुल पनि हो– आवधिक निर्वाचन ।