देशभरिका गाउँपालिकाकाे फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउँछ : थापा

सिन्धुपाल्चाेक – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रावती गाउँपालिका देशभरबाट पहिलाे नम्बरमा रहेको बताउनुभएकाे छ । देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउने उहाँले बताउनुभयाे ।  इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई आज शनिवार सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयाे, ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपा...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका भूकम्प पीडितले पाएनन् तेस्रो किस्ता

वैशाख २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–११ का सुमन सापकोटाले गएको पुस महीनामै घर निर्माण सम्पन्न गरिसकेका छन् । इटा सिमेन्टको जडाइ गरिएको सो घर निर्माण गर्न उनले ५ लाखभन्दा धेरै रकम खर्च गरे । सो मध्ये इट्टा र सिमेन्टको पैसा उधारो राखेर घर निर्माण गरेका उनले तेस्रो किस्ता नआँउदा सो रकम तिर्न सकेका छैनन् ।  ‘साहुले पैसा चाहियो भनेर दिनकै भन्न थालिसकेका छन्,’ सापकोटाले भने ‘अन्तिम किस्ता बापतको ५० हजार रुपैयाँ आएपछि तिरौंला भनेर कुरिरहेको छु ।’ सापकोटाजस्तै घर निर्माण सकिएको तर अन्तिम किस्ता प्राप्त गर्न नसकेकाहरुको संख्या सिन्धुपाल्चोकमा ४११ रहेको छ । भूकम्प पीडितले पाउनु पर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरु मारमा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर बसेका उनीहरुले अहिलेसम्म किस्ता प्राप्त गर्न नसक्दा समस्यामा परेका हुन् ।  गत फागुन मसान्तमा भुक्तानी दिएपछि चैत १ गतेबाट किस्ता रोकिएको हो । अनुदानको लागि पीडितले निवेदन दिएर सो फाइल अन्तिम भुक्तानीका लागि चेक बन्ने प्रकृयासम्म पुग्न एक महीनाभन्दा बढी समय लाग्छ । यसरी फागुन मसान्तपछि किस्ता रोकिँदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान बापतको रकम पाउन सकेका छैनन् ।  पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा नीजि आवास) सिन्धुपाल्चोकका सूचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिँदा भूकम्प पीडितहरुले रकम पाउन सकेका छैनन् । ‘हामीले सबै प्रकृया सकेर अन्तिम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं,’ धितालले भने ‘तर अर्थ मन्त्रालयबाट बजेट निकासा रकम नआँउदा हामीले भुक्तानी दिन सकेका छैनौं ।’ किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले मेरो किस्ता किन रोकियो भनेर फोन गर्ने गरेको र कोही कोही लाभग्राही, जनप्रतिनिधि त कार्यालयमै आएर दबाब दिने गरेको धितालले बताए । उनका अनुसार चैत महीनादेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या १ हजार ७७ छ । कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४३८ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएका छन् । उनीहरुमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ता बापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ता बापतको ५० हजार गरी अनुदान बापतको पूरै ३ लाख रुपैयाँ बुझिसकेका छन् ।  पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका १३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षित जग्गा नभएका ९२० लाभग्राहीमध्ये ३९४ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेको कार्यालयको तथ्यांक छ । त्यस्तै कतै जग्गा नभएका १७७ लाभग्राही मध्ये ८२ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेका छन् । त्यसैगरि कार्यालय मार्फत १५ ओटा गुम्बा निर्माण काम भइरहेको छ ।   आगामी असार मसान्तबाट पुनर्निर्माण प्राधिकरण अन्तर्गतका सबै कार्यालयहरु खारेज हुँदैछन् । सो कार्यालय खारेज भएपछि पुनर्निर्माणको स्वमित्व कसले लिने भन्ने विषय अझैपनि टुंगो लाग्न सकेको छैन । यो असहज समयमा छिटोछिटो पुनर्निर्माण सक्नुपर्नेमा एकतिर निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले किस्ता बापतको रकम पाएका छैनन् भने पुनरावेदनमार्फत नयाँ लाभग्राही थपिने क्रम पनि जारी छ । यस्तो अवस्थामा छिटो भन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नु पर्नेमा मन्त्रालयबाट निकासा रोकिँदा पुनर्निर्माण नै अन्यौलमा परेको छ । ‘पुनर्निमाण प्राधिकारणले असार मसान्तसम्म पुनर्निर्माण गरिसक्न दबाब दिइरहेको छ’, धितालले भने ‘तर बजेट भने रोकिराखिएको छ ।’ पहिलो किस्ता पाएर आवास निर्माण शुरु गरेका कतिपय लाभग्राहीको दोस्रो किस्ता नपाउँदा आवास निर्माण सम्पन्न हुन नसकेको उनले सुनाए । जसोतसो निर्माण सम्पन्न गरेका लाभग्राही समेत किस्ता रोकिएकै कारण चर्को ब्याजमा ऋण लिन बाध्य छन् ।