कात्तिक २५, लन्डन (बेलायत) । बेलायतको अर्थतन्त्र सेप्टेम्बरमा शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
योसँगै अर्थतन्त्र सन् २०२० को फेब्रुअरीमा कोभिडका कारण पहिलो लकडाउन लगाउनु अघिको तुलनामा शून्य दशमलव ६ प्रतिशत सानो छ । पछिल्लो तथ्यांकले बेलायती अर्थतन्त्रले लकडाउन हटेपछिको लय गुमाएको छर्लङ पारेको छ ।
विश्वमा आपूर्ति श्रृंखलामा देखिएको समस्यालगायत कारणले गर्दा बेलायतको आर्थिक वृद्धिदर प्रभावित भएको छ । जुलाईमा अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले घटेको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।
यो यसअघि अनुमान गरिएको शून्य दशमलव १ प्रतिशतको कमीभन्दा धेरै हो । सेप्टेम्बरमा स्वास्थ्य क्षेत्रको उत्पादनमा भएको वृद्धिले आर्थिक वृद्धिदरमा टेवा दिएको हो । महामारी घटेपछि मानिसहरु पुनः डाक्टरकहाँ जान थालेका छन् । यसका कारण सेवा क्षेत्र अगष्टको तुलनामा शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।
तर ग्यास वितरण लगातार चौथो महीना पनि खुम्चिएपछि औद्योगिक उत्पादनमा भने शून्य दशमलव ४ प्रतिशतको कमी आएको छ । तेस्रो त्रैमासमा अर्थतन्त्र १ दशमलव ३ प्रतिशतले बढेको छ ।
यो यस वर्षको शुरुमा बेलायत लकडाउनमा भएको बेलायताकै न्यून हो । सेप्टेम्बरसम्मको तीन महीनामा अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले बढ्ने बैंक अफ इंगल्यान्ड र रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले बताएका थिए । एजेन्सी