काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ०७८/७९ को मौद्रिक नीतिको स्वागत गरेको छ ।
मौद्रिक नीतिले कोभिड महामारीबाट प्रभावित हस्तकला क्षेत्रका घरेलु, साना तथा मझौला उद्योग र व्यवसायलाई पुनर्जीवित पार्न ऊर्जा मिल्ने विश्वास संघको छ । कोरोना महामारीले थिलोथिलो भएको देशको आर्थिक वृद्धिको गतिमा सुधार ल्याउन मौद्रिक नीति सकारात्मक रहेको संघले बताएको छ ।
संघले घरेलु, साना तथा मझौला उद्योग र व्यवसायका लागि वित्तीय सुविधाका योजनाको निरन्तरता दिँदै बैंक तथा वित्तीय संस्थाबाट दिइएको ऋणको भुक्तानीको समयावधि बढाइएकामा संघले यसलाई सकारात्मक ठानेको छ ।
मौद्रिक नीतिमा घरेलु, साना तथा मझौला उद्योग र व्यवसायलाई ऋण प्रवाह गर्न स्थानीय नगरपालिकामा विशेष कक्षको व्यवस्थासम्बन्धी प्रावधान राखिएकाले स्थानीय स्तरमा वित्तीय पहुँच र स्रोत परिचालन वृद्धि हुने अपेक्षा संघले लिएको छ ।
महामारीका कारण जागिर गुमाउनेलाई स्वरोजगार बन्न र व्यावसायिक विविधीकरणका लागि १५ लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध हुनु सकारात्मक रहेको संघको ठहर छ ।
घरेलु, साना तथा मझौला उद्योग र व्यवसाय सञ्चालन गर्ने महिला उद्यमीलाई स्वरोजगार परियोजनाअन्तर्गत उपलब्ध गराइएको ऋणलाई वञ्चित ऋणमा रुपान्तरण गर्न प्रोत्साहित गर्ने नीति सराहनीय रहेको संघले जनाएको छ ।
मौद्रिक नीतिमा वित्तीय पहुँचको सुविधा उपलब्ध गराई स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने कार्यक्रम समावेश गरिनु सकारात्मक रहेको संघको भनाइ छ । साना उद्यमी व्यवसायी र नव प्रवेशी उद्यमीलाई प्रोत्साहित गर्न डिजिटल बैंकिङ प्रणाली कार्यान्वयन गरिने विषय उल्लेख गरिएकाले हस्तकला व्यवसाय थप गतिशील हुने विश्वास रहेको संघका अध्यक्ष मीरा भट्टराईले बताइन् ।