पुस ५, खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रू. पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ ।
जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ ।
पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको रू. ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो ।
१०० किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् ।
फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रू. ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रू. पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनः अस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’
गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम शुरु भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करीब ६ महीनामात्र सञ्चालन हुन्छ ।
जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ । गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रू. ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रू. साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले जानकारी दिए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो ।
फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण शुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । सडक विभागको रू. १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम शुरु गरेको थियो ।
नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।
तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन ।
चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन् । रासस