काठमाडौं । अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्ल्याकस्टोन इंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ श्वार्जम्यानले सन् २०२२ मा तलब-सुविधा र लाभांशबापत १ अर्ब २७ करोड डलर पाएका छन् । कम्पनीमा श्वार्जम्यानको २० प्रतिशत शेयर छ ।
उनले लाभांशबापत मात्रै १ अर्ब डलर थापेका छन् । सेवा सुविधाबापत भने उनले २५ करोड ३१ लाख डलर पाएका छन् । २०२१ मा पनि उनले लाभांश सेवा सुविधाबापत १ अर्ब १० करोड पाएका थिए । श्वार्जम्यान वाल स्ट्रिटका सबैभन्दा धेरै कमाउने हाकिममध्ये एक हुन् । उनको नेटवर्थ ३० अर्ब ६० करोड डलर नेटवर्थ भएको अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले देखाएको छ ।
उनको अधिकांश सम्पत्ति ३० वर्षभन्दा पहिला उनी आफैले स्थापना गरेको कम्पनीसँग जोडिएको छ । ब्ल्याकस्टोनका अध्यक्ष तथा कम्पनीका भावी सीईओ जोन ग्रेले पनि २०२२ मा ४७ करोड ९२ लाख थापेका छन् । यसमा कम्पनीमा रहेको उनको ३ प्रतिशत बराबरको शेयरबापतको लाभांशबाट प्रति १८ करोड २७ लाख डलर पनि जोडिएको छ । दुबैलाई वार्षिक नगद बोनस दिइएको छैन ।
तर पनि यी दुई वाल स्ट्रिटका सबैभन्दा ठूला लगानी बैंकका सीईओहरूले भन्दा धेरै कमाउँछन् । वित्तीय क्षेत्रमा कठिनाईका कारण वाल स्ट्रिटका लगानी बैंकका कयौं सीईओहरूले आफ्नो तलब सुविधामा घटाएका छन् । ब्ल्याकस्टोनले गएको वर्ष ग्रेको शेयर बोनस घटाएको थियो । २०२१ मा उनले ३ करोड ८० लाख डलर स्टक बोनस लिएकोमा सन् २०२२ मा यो घटेर ३ करोडमा सीमित भएको थियो । एजेन्सी