उद्योगमन्त्री र चिनियाँ राजदूतबीच भेट : विकास सहायता, सीमा नाका खुलाउनेलगायत विषयमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमवार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहायता, सीमा नाका खुलाउने लगायत विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राजदूत सङको प्रशंसा गरेका थिए । मन्त्री रिजालले दुई देशबीचको सम्बन्ध विशेष एवं महत्त्वपूर्ण रहेको बताए । चीनसँगको व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोरिरहेको स्पष्ट पार्दै मन्त्री रिजालले उक्त व्यापार घाटा कम गर्न राजदूत सङको कार्यकालमा सहकार्य हुने विश्वास व्यक्त गरे । पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि स्थापित संयुक्त परामर्श संयन्त्रको बैठकसमेत बस्न नसकेको भन्दै उनले काठमाडौं र पेचिङबीच स्थापित उक्त संयन्त्रको बैठक यथाशीघ्र बसी द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धन तथा सहजीकरण गर्न आग्रह गरे । भेटमा चिनियाँ राजदूत सङले नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिए । द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू पनि विश्वस्त रहेको भन्दै राजदूत सङले विकास सहायता र प्रत्यक्ष वैदेशिक लगानी उपलब्ध गराउनेमा चीन सकारात्मक रहेको बताए ।