वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३६ दशमलव ७३ अंकले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ३२० दशमलव ५१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ३५ लाख ७० हजार १४ कित्ता शेयरको ३२ हजार ५०६ पटकमा रू. १ अर्ब ४५ करोड ७ लाख ३७ हजार ७५५ दशमलव ४६ बराबरको शेयर खरीदविक्री भएको छ ।
पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिले शेयर बजारलाई निकै नै प्रभावित पारेको छ । मंगलवार भने बजार १३ अंकले बढेको थियो । तर बुधवार भने ३६ अंकले बजार घटेको छ ।
यस दिन धेरै कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसबाट पनि लगानीकर्ताको मनोबल परिवर्तन हुन सकेन । यसरी हेर्दा नियामक निकायले नै नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।
यसोत, शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको हरेक गतिविधि जस्तै खुद नाफा, जगेडा, प्रतिशेयर आम्दानीलगायतका आधारभूत पक्ष र प्राविधिक पक्षहरु राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।
यस दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सर्किट लागेको हो ।
जल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ६४५ दशमलव २० र ग्रीन भेन्चर्सको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको हो ।
त्यसैगरी, बुधवार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा झरेको छ ।
साथै यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री पनि भएको छ । कम्पनीको रू. १४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी, दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।