फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो ।अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले २ असिस्ट र मार्टिनेजले १ गोल र १ असिस्ट गरे । खेलको ७ औँ मिनेटमा लुइस स्वारेजले गोलरक्षक इमिलियानो मार्टिनेजलाई बिट गरेपनि प्रहार गर्न सकेनन् । २२औं मिनेटमा नाहितान नान्डेजको क्रसमा माटिएस भिनाको पासमा स्वारेजकै प्रहारलाई अजेन्टिनी गोलरक्षक मार्टिनेजले बचाएपछि उरुग्वे अग्रता लिनबाट बञ्चित भयो ।२६औं मिनेटमा रोड्रिगो डि पउलको पासमा लोउटारो मार्टिनेजको प्रहार पोस्ट नजिकैबाट बाहिर जाँदा अर्जेन्टिना पनि अग्रता बनाउनबाट चुक्यो । ३८औं मिनेटमा जियोभानी लो सेल्सोको पासमा गोल गर्दै कप्तान मेस्सीले अर्जेन्टिजालाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा रोड्रिगो डि पउलले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ३–० बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना विजयी भयो ।जितसँगै अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक बनाएको छ ।