सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका १२ वटै स्थानीय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी वाणिज्य संघले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले ८० हजार थान सर्जिकल मास्क, २ हजार ७ सय थान केएन ९५ मास्क, ८ सय लिटर स्यानिटाइजर, ७ हजार थान ग्लोब्स, ३३ थान थर्मलगन, ३३ थान अक्सिमिटर, १ सय थान पीपीई सेट, अक्सिजन सिलिन्डर ८३ थान र अक्सिजन कन्सेन्टर ३ थान वितरण गरेको छ । ‘हामीले जिल्लाका १२ वटै स्थानीय तहसहित नेपाल प्रहरीका विभिन्न युनिट, सशस्त्र प्रहरीका बेस क्याम्प, नेपाली सेनाका ब्यारेक तथा कोभिड–१९ संक्रमित बिरामीले उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका हौं’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले भने । श्रेष्ठसहित संघका अध्यक्ष होमबहादुर बस्नेत,  नेपाल हिमालय सीमापार व्यापार संघका निवर्तमान अध्यक्ष बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यसहितको टोलीले सम्बन्धित कार्यालयमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । संघले सबै स्थानमा सर्जिकल ४ हजार थान मास्क, ७५ थान केएन ९५ मास्क, २० लिटर स्यानिटाइजर र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो । विपद्का बेला जनउत्तरदायी काम गर्ने उद्देश्यल स्वास्थ्य सामग्री वितरण गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले हिमालय सीमापार व्यापार संघसँग समन्वय गरी निरन्तर कोभिड–१९ नियन्त्रणमा सघाउँदै आएको जानकारी दिए । जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भए उद्योग वाणिज्य महासंघले काठमाडौंको क्षेत्रपाटीमा स्थापना गरेको आइसोलेसनमा सम्पर्क गर्न र अक्सिजन अभाव भएसमेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । हिमालय सीमापार बाणिज्य संघले पनि चौतारा अस्पताल र तातोपानी भन्सार कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, वरिष्ठ सचिव भक्त पराजुली र सदस्य सिंहबहादुर श्रेष्ठले चौतारा अस्पतालका अध्यक्ष ईश्वरी श्रेष्ठलाई कोभिड–१९ रोकथामका लागि १० हजार थान मास्क, ६५ लिटर स्यानिटाइजर र २० थान पीपीई सेटलगायत स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरे । तातोपानी भन्सार कार्यालय पुगेर भन्सार कार्यालय मजदुर संघ, सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकीलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । संघले चीनसँगको सीमानाका क्षेत्र तथा सरकारी अस्पतालमा स्वास्थ्य सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै जाने जनाएको छ ।