म्याग्दी (अस) । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतवार बसेको सरोकारवालाहरूको बैठकले सो सडकको स्तरोन्नति सहज बनाउन पुस १५ गतेदेखि माघ १४ गतेसम्म सवारीसाधनको आवतजावत आंशिक बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले सो अवधिमा बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए ।
बैठकले सवारीसाधनको आवतजावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र अत्यावश्यक प्रयोजनका सवारीसाधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।
मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको समय अनुकूल भएकाले सडक विस्तार तीव्र बनाउन सवारीसाधन रोकेर काम गर्न लागिएको बताए । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ ।
मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माण गरिरहेको छ । हाल कालोपत्रसहित करिब ६ मिटर चौडा सडकलाई ९ मिटर फराकिलोे बनाइँदै छ । सडकमा अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । मालढुंगा–बेनी सडकको निर्माण २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत शुरू भएर २०५२ सालमा सञ्चालनमा आएको थियो । २०६८ सालमा कालोपत्र भएको यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ । म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने उक्त सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रहेको छ ।