भदौ ८, काठमाडौं । रू रू जलविद्युत् परियोजनाले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ ।
कम्पनीको भदौ ७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, हात्तिसार, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।
सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसँगै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/ ७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/ ७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाबाट पारित गर्दैछ ।
वैशाख २० गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु गरेको उक्त कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी वैशाख ३ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा भने कम्पनीले न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुगेको छ ।
कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविद्युत् परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको कम्पनीले बताएको छ ।
सभाले सर्वसाधारण तर्फबाट एक जना र संस्थापक तर्फबाट पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ । साथै एक जना स्वतन्त्र सञ्चालनकको नियुक्तिलाई समेत सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।