हाजिरी जमानीमा रिहा भए बैंकर

काठमाडौं । धितो मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)द्वय तुलसी गौतम र मनोज न्यौपानेसहित १० जना बैंकर हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरूको बयान सकिए पनि अनुसन्धान नसकिएकाले दैनिक हाजिरी हुने गरी रिहाइ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।  ‘अहिले नेपाल राष्ट्र बैंकका विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको छ,’ बोगटीले भने, ‘अझै २ साताभन्दा बढी समय लाग्ने देखिएकाले दैनिक सीआईबीमा हाजीर हुनेगरी रिहाइ गरिएको हो ।’ उनीहरूलाई नेपाल बैंकर्स संघ, प्रभु बैंक र परिवारको जिम्मा लगाइएको बोगटीले बताए ।  फागुन १५ गते पक्राउ परेका उनीहरूलाई तीनपटक म्याद थप गरी प्रहरीले १७ दिन हिरासतमा राखेर दैनिक हाजीर हुने गरी रिहा गरेको हो । पक्राउ परेको भोलिपल्टै उनीहरूलाई छुटाउन बैंकर संघका पदाधिकारीले तत्कालीन गृहमन्त्रीका साथै नेपाल राष्ट्र बैंक र सीआईबीका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । प्रहरीले रिहा गर्न अस्वीकार गरेपछि बैंकरहरूले विरोध गर्दै आएका थिए । सरकार परिवर्तनसँगै संघका पदाधिकारीले गतसाता अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकरमाथि भएको धरपकडको विरोध गरेका थिए । संघले विज्ञप्तिमार्फत पनि बैंकिङ कसुरसँग सम्बद्ध अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनुपर्नेमा ‘पहिले थुन अनि सुन’ भएको भन्दै आपत्ति व्यक्त गरेका थिए । प्रवक्ता बोगटी भने आरोपितलाई रिहाइ गर्दा प्रमाण नष्ट गर्ने अवस्था नभएकाले रिहाइ गरिएको र यसले मुद्दा कमजोर नहुने दाबी गर्छन् ।  ऋण प्रवाहमा भएको कमजोरी नियामक निकाय नेपाल राष्ट्र बैंकको अनुसन्धानको विषय भए पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि बैंकरलगायत निजीक्षेत्रका उद्यमी व्यवसायीले विरोध गरेका थिए ।  प्रहरीले पूर्वसीईओद्वय गौतम र न्यौपानेका साथै ऋण दिने प्रक्रियामा संलग्न कर्मचारीहरू राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरूलाई देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागार्इं र उनको कम्पनीलाई ऋण प्रवाह गर्दा धितो मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गरेको आरोप प्रहरीले लगाएको छ । सेन्चुरी हाल प्रभु बैंकमा गाभिइसकेको छ । प्रभुमा न्यौपाने वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृत छन् ।  पछिल्लो समय देउराली सहकारीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा बैंकको कर्जा प्रवाहमा कमजोरी भेटेपछि प्रहरीले बैंकरलाई समेत पक्राउ गरेको जानकारी दिएको छ । सहकारी समस्यामा परेसँगै प्रभु बैंकले ऋण असुली प्रक्रिया अघि बढाएको थियो । तर, बैंकले पटकपटक लिलामीको सूचना जारी गर्दा पनि धितो विक्री हुन सकेको छैन ।  प्रहरीका अनुसार सेन्चुरीले पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी समेतलाई २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । तर, कर्जा प्रवाह गर्दा धितोस्वरूप बैंकमा राखिएको सम्पत्तिको मूल्यांकन १ अर्ब १४ करोड २३ लाख ८४ हजार रुपैयाँ मात्र रहेको प्रहरीको भनाइ छ ।  बैंकरहरूले भने चल/अचल सम्पत्तिबाहेक परियोजना, व्यापार, नगद प्रवाहलगायत थुप्रै आधार हेरेर कर्जा दिइने हुँदा धितो मूल्यांकनका आधारमा कर्जा प्रवाहमा कमजोरी भएको व्याख्या गर्नु गलत हुने तर्क गर्छन् । उनीहरूले यसै आधारमा गिरफ्तारीको  विरोध गरेका हुन् ।