वीरगञ्ज नाकामा कोरोना हेल्थ डेस्क स्थापना : आधाभन्दा बढीले लगाए पूर्ण खोप

फागुन ३, वीरगञ्ज । एक समय कोरोनाको हटस्पटको रुपमा चिनिएको वीरगञ्ज पछिल्ला दिनमा कोरोना संक्रमणका दृष्टिले कम जोखिमको क्षेत्र बनेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा बढी संक्रमित देखिएको सीमावर्ती शहर वीरगञ्जमा तेस्रो लहरले खासै असर परेको देखिएन ।  वीरगञ्जमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा अपनाइएको उपाय अन्य क्षेत्रका लागि अनुकरणीय बनेको थियो । त्यसबेला अन्यत्र कोरोना तीव्र गतिमा फैलिइ रहँदा सीमावर्ती क्षेत्रमा रहेर पनि वीरगञ्ज ग्रीन जोनमा पर्न सफल भएको थियो ।  पछिल्लो समयमा सीमा क्षेत्रमा अपनाइएको सतर्कता र कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारिएकाले संक्रमण कम भएको महानगरका प्रमुख विजयकुमार सरावगी बताउँछन् । ‘सीमाबाट हुने आवागमनमा सतर्कता र खोप अभियानलाई तीव्र पारेका कारण कोरोनाको जोखिम कम भएको हो,’ सरावगीले आर्थिक अभियानसँग भने । सीमावर्ती भारतीय क्षेत्रमा समेत खोप अभियान सञ्चालन गरिएकाले पनि सीमापारिबाट संक्रमण भित्रिने जोखिम घटेको विश्लेषण गरिएको छ । महागनरले कोरोना महामारी शुरू भएदेखि नै नाकाको शंकराचार्य गेट नजिकै हेल्थ डेस्क सञ्चालन गरेको छ ।  हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण गरिन्छ । एन्टिजेन परीक्षणमा संक्रमण देखिए भारतीयलाई प्रवेशमा रोक लगाउने र स्वदेशीलाई आइसोलेशनमा पठाउने व्यवस्था मिलाइएको महानगर प्रमुख सरावगीले बताए ।  हेल्थ डेक्समा सीमित स्वास्थ्यकर्मी र स्रोत अभावको समस्या भने देखिने गरेको छ । दिनहुँ १० हजारभन्दा बढी मानिसको आवगमन हुने नाकामा दैनिक ५०० जनाभन्दा बढीको परीक्षण गर्न नसकिएको महानगरले बताएको छ । नाकामा १२ जना स्वास्थ्य कर्मचारी खटाएको छ ।  महानगरले कोरोनाको पहिलो लहरमै परीक्षणका लागि पीसीआर उपकरण खरीद गरेको थियो । महानगर र स्थानीय दाताको सहयोगमा ल्याइएको यो उपकरण अहिले नारायणी अस्पतालमा कोरोना परीक्षणमा उपयोग भइरहेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ ।  महानगरका १८ वर्षमाथिका ५६ प्रतिशत बासिन्दालाई कारोनाविरुद्धको पूर्ण खोप दिइसकेको स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । महानगरले १२ देखि १७ वर्ष उमेर समूहका ५३ प्रतिशतलाई पूर्ण खोप दिइसकेको बताएको छ ।  महानगरमा ३४ ओटा खोप रहेकोमा यो संख्या थपेर ४९ पुर्‍याइएको छ । कोरोनाविरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन खोप केन्द्र विस्तार गरिएको जयसवालले बताए ।  महानगरले अहिलेसम्म कोरोना संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापनमा १२ करोड २७ लाख ५९ हजार रुपैयाँ खर्च गरेको बताएको छ । यसमध्ये संघ सरकारले ४ करोड ३५ लाख र प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको महानगरले बताएको छ ।