बेलायतमा मुद्रास्फीति २% माथि उक्लियो

असार २, लन्डन (बेलायत) । बेलायतमा मुद्रास्फीति २ प्रतिशत माथि उक्लिएको छ । मुद्रास्फीति केन्द्रीय बैंक ‘बैंक अफ इंगल्याण्ड’ (बीओई)को लक्षित विन्दुमाथि अप्रत्याशित रुपमा उक्लिएको हो । कोरोना भाइरसको महामारीका कारण लगाइएको प्रतिबन्धहरु खुकुलो बन्दै गइरहेकोले आगामी दिनमा यो थप बढ्ने देखिएको छ ।  मेमा मुद्रास्फीति २ दशमलव १ प्रतिशतमा पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । अप्रिलमा मुद्रास्फीति १ दशमलव ५ प्रतिशत रहेको थियो ।  समीक्षा अवधिमा मुद्रास्फीति १ दशमलव ८ प्रतिशतले बढ्ने रोयटर्सले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरुले बताएका थिए । यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति साढे २ प्रतिशतमा पुग्ने अपेक्षा बीओईले गरेको छ ।  खाद्यान्न, ऊर्जा र अन्य अस्थीर वस्तुबाहेकको कोर मुद्रास्फीति मेसम्मको १२ महीनामा बढेर २ प्रतिशतमा पुगेको छ ।  मुद्रास्फीतिमा वृद्धि अस्थायी हुने भन्दै बीओई गभर्नर एन्ड्रिउ बेलीलगायतहरुले केन्द्रीय बैंकले बृहत स्टिमुलस कार्यक्रम कटौती गर्न जरुरी नभउको बताइरहेका छन् । जुन २४ मा बस्ने नीतिगत बैठकमा पनि बैंकले नीति यथावत् राख्ने अपेक्षा गरिएको छ । एजेन्सी