महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ शय्याको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पताल अन्तर्गत १५ शøयाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रू. २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गाप्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएको थियो । महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित भोर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारिशमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए । उनका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थियो । रासस