सासु कोष ऐनको पुनर्लेखन

सरकारले नयाँ युगको शुरुवात भन्दै निजी क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारलाई समेत पेन्सन दिने भनी ठूलो प्रचार गर्दै ल्याएको सामाजिक सुरक्षा कोषमा अपेक्षा गरिएअनुसार रोजगारदाता र कामदारहरू आबद्ध भइरहेका छैनन् । यसलाई आकर्षक प्रतिफलयुक्त बनाउनुका साथै विश्वसनीयसमेत बनाउनुपर्नेमा सरकार अनिवार्य बनाउनेतर्फ लागेको छ । तर, सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाइनुपर्छ या यसले कामदारका सबै चासो र चिन्तालाई सम्बोधन गर्न सक्नुपर्छ । तर, अहिलेसम्म यस्तो काम हुन सकेको देखिँदैन । सामाजिक सुरक्षा कोष र श्रम ऐनसँग सम्बन्धित कानुनको संशोधन गर्दा व्यापक छलफल गरिनुपर्छ । सामाजिक सुरक्षाका तमाम समस्यालाई सम्बोधन गर्ने हो भने कोष ऐनको पुनर्लेखन नै गर्नुपर्ने देखिन्छ । सरकारले श्रमसँग जोडिएका समग्र ऐन संशोधन गरेर निजी क्षेत्रमा कार्यरत सबैलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउन खोजेको छ । यसका लागि सामाजिक सुरक्षा नियमावली २०७५, श्रम नियमावली २०७५, बोनस नियमावली २०३९, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा भएका प्रावधानहरूलाई संशोधन गर्न लागिएको छ । खासमा सरकारी कर्मचारीलाई सरकारले पेन्सन उपलब्ध गराउन नसक्ने अवस्था आउने देखिएकाले योगदानमा आधारित पेन्सन कार्यक्रम अघि सारिएको हो तर सरकारी कर्मचारीलाई धेरै सुविधाका अलग कार्यक्रम राखेर निजी क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षामा ल्याउन खोजिएपछि यसको विरोध भइरहेको छ । कर्मचारी यूनियन र रोजगारदाताबीच दुवै पक्षलाई बराबरी लाभ हुने गरी सामाजिक सुरक्षा कोषको प्रस्ताव गरिए पनि  ठूला र स्थापित कम्पनीहरूका सन्दर्भमा भने यो कोष आवश्यक देखिएको छैन । कम्पनीका कामदार कर्मचारीले कोषले दिने भन्दा बढी सामाजिक सुरक्षा पाइरहेका छन् । यस्तोमा कोषले जजसले सामाजिक सुरक्षा पाइरहेका छैनन् तिनलाई कोषमा आबद्ध गराउन पहल गर्नुपर्ने हो । साना कम्पनीहरु, निजी विद्यालयहरूले सामाजिक सुरक्षाका लागि खर्च गर्न सक्ने अवस्था छैन । तिनलाई कोषमा ल्याउन उसले बलजोड गर्नुपर्ने हो तर ऊ ठूला र स्थापित कम्पनीलाई कसरी कोषमा ल्याउन सकिन्छ भन्नेमा नै बढी केन्द्रित रहेको देखिन्छ । यही भएर विगतमा बैंक कर्मचारीहरूले आन्दोलन गर्नुपरेको थियो र सर्वोच्च अदालतले स्वेच्छिक भनी व्याख्या गरिदिएका कारण कोषले दबाव दिन सकेको छैन । यही कारण कोष अहिले कानुन संशोधन गर्नतिर लागेको सहजै बुझ्न सकिन्छ । ठूलो कम्पनीहरूले बोनस दिने र निश्चित अंश कर्मचारी कल्याण कोषमा राख्ने गरेका छन् । त्यही कोषमा राखेको रकममा अहिले सामाजिक सुरक्षाको आँखा लागेको धेरैको भनाइ छ । त्यसैले सामाजिक सुरक्षा कोषले दिनेभन्दा राम्रो सुविधा पाइरहेकालाई अनिवार्य गरिरहनु पर्दैन । तर, जसरी भए पनि कोषको आकार बढाउने सोचले उनीहरूलाई अनिवार्य गर्नेगरी कानुन संशोधन गर्न लागिएको पाइन्छ । यदि कोषलाई ठूलो पार्ने नै हो भने अर्को उपाय पनि छ । सरकारले सामाजिक सुरक्षा करको नाममा प्रत्येक कर्मचारीबाट उठाएको १ प्रतिशत रकम अहिले रू. ५० अर्बभन्दा बढी भइसकेको छ । त्यो रकम यसमा ल्याउन सकिन्छ  । वास्तवमा कोषको स्थापना नै यही अवधारणा अनुसार भएको हो । सामाजिक सुरक्षा कोषले यो संशोधन ल्याउँदा नेपालका सबै संस्थाहरूमा श्रम ऐन मात्रै लागू हुन्छ भन्ने संकुचित सोच लिएको देखिन्छ । वास्तविकता यस्तो छैन । उदाहरणका लागि पत्रकारहरूका लागि बेग्लै श्रमजीवी पत्रकार ऐन छ  । सामाजिक सुरक्षा कोषले संशोधन गर्न खोजेको एउटा प्रावधान यो ऐनको प्रावधानसँग जुध्छ । यस्तो जुधेको प्रावधान के हुन्छ ? सासु कोषले अहिले विभिन्न प्रतिष्ठानहरूमा रहेका कर्मचारी कल्याण कोष खारेज गराउने र त्यो पैसा सासु कोषमा ल्याउने प्रयास गरेको छ जसको विरोध हुने निश्चित छ । कोषले ६० वर्ष उमेर नाघेको मान्छे कर्मचारी हुन सक्दैन भन्ने सोचका साथ सामाजिक सुरक्षाका योजनाहरू ल्याएको देखिन्छ जब कि निजी क्षेत्रका संस्थाहरूमा त्योभन्दा बढी उमेरका मानिसहरूले सक्रिय रूपले काम  गरिरहेका छन् । यस्ता कामदारलाई कोषमा अनिवार्य आबद्ध गराइयो भने उनीहरूलाई जागिरबाट निकाल्नु पर्ने हुन्छ । त्यसैले सामाजिक सुरक्षा कोष र श्रम ऐनसँग सम्बन्धित कानुनको संशोधन गर्दा व्यापक छलफल गरिनुपर्छ । सामाजिक सुरक्षाका तमाम समस्यालाई सम्बोधन गर्ने हो भने कोष ऐनको पुनर्लेखन नै गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषका असंगतिहरू

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रोपटक संशोधन हुँदा पनि यसमा सहभागी हुनुको सट्टा सर्वोच्च अदालतको असाधारण अधिकार (रीट) क्षेत्र गुहारेका छन । सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै उत्सव मनाएर शुरू गरेको ‘लुट’ योजना बीचमै तुहिने सँघारमा पुगेको छ । सामाजिक सुरक्षा (सासु) को नाम दिइए पनि योजना सञ्चालन कार्यविधिमा गरिएको व्यवस्थाले ‘स्याललाई कुखुरा पैंचो’ दिएजस्तो छ । योगदानकर्ताले खाइनखाई जम्मा गरेको रकम फिर्ता नपाउने र ब्याज पाउन पनि पर्खनुपर्नेजस्ता व्यवस्थाले औचित्य नै समाप्त भएको छ । सरकार र कोष (सासु) ले यसलाई अकबरी सुनको जलप लगाएर अति नै राम्रो देखाउने जति प्रयास गरे पनि ‘महीमा पानी मिसाएको’ जस्तो छ । जसका लागि गोठ बनायो उसैको पुच्छरबाहिर भनेझैं कोषको नीति छ । सामाजिक सुरक्षाको नाममा ‘लुट’ जत्तिकै देखिने सासु कोष, सञ्चय कोषले दिएजत्तिकै वा त्योभन्दा बढी सेवासुविधा दिन सक्दैन भने यसलाई विघटन गर्नु नै उत्तम विकल्प हो । योजना र मुख्य विवाद योगदानमा आधारित सामाजिक सुरक्षा कोषले (१) औषधि उपचार तथा मातृत्व, (२) दुर्घटना तथा अशक्त, (३) आश्रित परिवार र (४) वृद्धावस्था सुरक्षा गरी चारओटा क्षेत्रमा सामाजिक सुरक्षा दिने उल्लेख गरेको छ । यस्ता योजना योगदानकर्ता र रोजगारदाताले दिने आधारभूत तलबको क्रमशः ११ र २० प्रतिशत रकम जम्मा गरेपछि उल्लिखित सुविधा प्राप्त हुनेछ । चारओटा योजनामध्ये सबैभन्दा विवादास्पद वृद्धावस्था सुरक्षा योजना हो । यसमा निवृत्तिभरण र अवकाश सुविधा गरी दुई प्रकारको सुविधा प्रबन्ध गरिएको छ । यी दुईओटा योजनामा रोजगारदाता र योगदानकर्ताले योगदान गरेको क्रमशः १८ दशमलव ३३ र १० प्रतिशत गरी २८ दशमलव ३३ प्रतिशत रकम रहनेछ । यसरी जम्मा भएको रकममध्ये २० प्रतिशत निवृत्तिभरण र ८ दशमलव ३३ प्रतिशत रकम अवकाश सुविधा योजनामा अलगअलग जम्मा हुनेछ । निवृत्तभरण र अवकाश सुविधा अवकाश सुविधाबापत जम्मा भएको रकम अवकाश हुनासाथ प्राप्त हुनेछ भने निवृत्तिभरण योजनामा जम्मा भएको रकम जीवनभर फिर्ता पाइँदैन । योगदानकर्ताले जम्मा गरेको निवृत्तिभरण (प्रचलित भाषामा सञ्चयकोष) रकम निज जुनसुकै तवरले जुनसुकै बेला सेवाबाट अवकाश भए पनि ६० वर्ष उमेर पूरा नभएसम्म लिन पाउँदैन । ६० वर्ष उमेर पूरा भएपछि पनि यस्तो रकमलाई १ सय ६० महीनाले भाग गरी हुन आउने बराबरको रकम हरेक महीना निवृत्तिभरण (प्रचलित भाषामा पेन्सन) को रूपमा प्राप्त हुनेछ । निवृत्तिभरण रकम प्राप्त गर्न १ सय ६० महीना (१५ वर्ष) रकम जम्मा गरेको हुनुपर्नेछ । १५ वर्ष अवधि नपुगेका योगदानकर्ताको हकमा भने एकमुष्ट लिन वा निवृत्तिभरणमध्ये कुनै एउटा विकल्प रोज्न पाउने सुविधा दिएको छ । कुनै पनि व्यक्तिले आफूले जम्मा गरेको रकम जुनसुकै बेला जागीर छाड्दा लिन पाउने व्यवस्था छैन । मानौं कुनै व्यक्तिले २५ वर्षको उमेरमा जागीर शुरू गरेर ४० वर्ष उमेर पुगेपछि जागीर छोडेर आफ्नै व्यवसाय गर्न चाह्यो भने १५ वर्षसम्म जम्मा भएको रकम फिर्ता पाउन सक्दैन । आफ्नै रकम प्राप्त गर्न २० वर्ष अर्थात् ६० वर्ष उमेर नपुगुन्जेलसम्म पर्खनुपर्छ । ६० वर्षपछि पनि मूलधन होइन, मुद्दतीको भन्दा कम ब्याज प्राप्त गर्छ । ब्याज पनि नउठ्ने निवृत्तिभरण नेपालको श्रम कानूनअनुसार ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश लिनुपर्छ । निवृत्तिभरण सुविधा अवकाश पाएको २ वर्षपछि अर्थात् ६० वर्ष उमेर पुगेपछि मात्र शुरू हुन्छ । मानौं, कुनै व्यक्तिको सेवाकालीन अवधिमा ३० लाख रुपैयाँ कोषमा जम्मा भयो भने उसले ६० वर्ष उमेर पूरा गरेपछि पाउने मासिक निवृत्तिभरण रकम १८ हजार ७ सय ५० रुपैयाँ (मूलधनलाई १ सय ६० महीनाले भाग गर्दा) प्राप्त गर्छ । यस्तो रकम जम्मा रकमको वार्षिक ७ दशमलव ५ प्रतिशत मात्र हुन् आउँछ । यो रकम मुद्दतीको ब्याजभन्दा पनि कम हो । जबकि ऋणपत्रको ब्याजदर नै औसत ९ प्रतिशत छ । उक्त व्यक्तिको ६५ वर्षमा मृत्यु भयो भने निजको पति वा पत्नीले आधा रकम मात्र निवृत्तिभरणबापत पाउँछ । निजको पति वा पत्नीको उमेरको अन्तर ५ वर्ष रहेछ र निज (पति वा पत्नी) को पनि ६५ वर्षमा मृत्यु भएमा त्यसपछि निजका छोराछोरी कसैले पनि कुनै रकम प्राप्त गर्दैन । स्मरण रहोस्, योगदानकर्ताले जम्मा गरेको रकममध्येबाट निज र निजको पति वा पत्नीले जम्माजम्मी १६ लाख ८७ हजार रुपैयाँ मात्र निवृत्तिभरणका रूपमा पाउँछन् । बाँकी १३ लाख १३ हजार रुपैयाँको हिसाब कतै देखिँदैन । सेवाकालमा जम्मा गरेको ३० लाख रुपैयाँ अवकाशपछि एकमुष्ट लिएर मुद्दती वा ऋणपत्रमा लगानी गर्दा औसतमा ९ प्रतिशत प्रतिफल प्राप्त हुन्छ । सासु कोषले मुद्दती वा ऋणपत्रको भन्दा कम ब्याज दिएर मूलधन गायब पारिदिन्छ । अझ योगदानकर्ताको पति वा पत्नी आफै योगदानकर्ता भएको अवस्थामा योगदानकर्ताको मृत्युपश्चात् आधा रकम पनि प्राप्त हुँदैन । विघटन र जिम्मेवारी योगदानकर्ताले जम्मा गरेको रकम पचाउने कस्ता कस्ता विधि अवलम्बन गरिएको रहेछ भन्ने कुरा अघिल्ला अनुच्छेदमा संक्षेपमा चर्चा गरियो । यसलाई कानून निर्माताले पनि त्यही अनुरूप बनाएर ‘दूधको साक्षी बिरालो’ बनाएको छ । कुनै पनि निकाय विघटन पनि हुनसक्छ । सासु कोष पनि विघटन हुन नसक्ने होइन । तर, विघटनपछि दायित्व कहाँ सर्ने भन्ने कुरा जानाजान राखिएको छैन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ६३ मा ‘समिति (सञ्चालक) को सिफारिशमा नेपाल सरकारले कोषको विघटन गर्न सक्नेछ’ भन्ने मात्र उल्लेख छ । विघटनपछिको परिणाम उल्लेख छैन । यस्तै प्रकृतिको कर्मचारी सञ्चयकोष ऐन, २०१९ को दफा २७ मा ‘कुनै कारणबाट कोषलाई विघटन गर्नुपर्छ भन्ने समिति (सञ्चालक) लाई लागेमा त्यसको कारण खुलाई समितिले नेपाल सरकारमा प्रतिवेदन पेश गर्नुपर्छ । त्यस्तो प्रतिवेदन परेपछि नेपाल सरकारले कोषको सबै दायित्व आपूmले वहन गरी कोषलाई विघटन गर्न सक्नेछ । विघटन गर्ने तरीका नेपाल सरकारले तोकिदिएबमोजिम हुनेछ’ भन्ने व्यवस्था छ । सञ्चय कोष विघटन गर्नुपर्दा कारण समेत खुलाएर प्रतिवेदन पेश गर्नुपर्छ । तर, सासु कोष विघटन सन्दर्भमा समितिले सिफारिश मात्र गरे पुग्छ । सञ्चय कोषमा भैंm दायित्व वहन गर्नुपर्ने कुरै छैन । सञ्चय कोषको कुनै पनि कानूनमा नभएको व्यवस्था सासु कोषमा छ । योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ नियम १० (ग) मा ‘नेपाल सरकारले देशमा चरम आर्थिक विशृंखलता वा अन्य असाधारण अवस्था सृजना भएको सूचना गरेमा कोषमा जम्मा भएको रकम भुक्तानी निलम्बन गर्न सक्नेछ’ भन्ने व्यवस्थाको व्याख्याको हद नभएको हुँदा सरकारले मनोवाञ्छित व्याख्या गर्नसक्ने अधिकार छ । अहिलेको कोरोना त्रासदीको अवस्था वा २०७२ सालको जस्तो भूकम्प आएमा पनि ‘अन्य असाधारण अवस्था सृजना भएको’ भन्दै व्याख्या गर्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन । अन्त्यमा, सामाजिक सुरक्षाको नाममा ‘लुट’ जत्तिकै देखिने सासु कोष सञ्चय कोषले दिएजत्तिकै वा त्योभन्दा बढी सेवासुविधा दिन सक्दैन भने यसलाई विघटन गर्नु नै उत्तम विकल्प हो । लेखक अधिवक्ता हुन् ।