समय चिन्नुहोस्, नेता किन्नुहोस्

उद्योगी व्यवसायी भनिरहेका छन् कि सरकारले काम गरेर कमाइ गर्ने वातावरण बनाएन, अर्थात् गरिखान दिएन । गरिखान दिएन रे ? कहाँ दिएको छैन । नाच्न जान्दैन आँगन टेडो ? ए बाबा ! विदेशमा जस्तो टक्क इमानदार भएर, कानून र विधि मानेर गरिखान पाइन्छ त ? आफूहरू जस्तो देश, त्यस्तै भेष नगर्ने अनि दोष चाहिँ सरकारको ?  ‘राजनीतिक दल र सरकारी अधिकारीहरू भाषण गर्दा उद्यमशीलता बढाउने, देश विकास गर्ने भन्छन् । तर व्यवहारमा भने समय–असमय व्यवसायीलाई प्रताडित गरिहन्छन् । विभिन्न करका नाममा जनतालाई एटिएम मेशिन सरह व्यवहार गरिरहेका छन् । जसरी हुन्छ, जनताबाट असुली चैं गर्ने । तर कुनै सुविधा चाहिँ नदिने ?’ भन्छन् उद्योगी, व्यवसायीहरू । तर उद्योगी, व्यवसायीका यी धारणा पूर्णतया गलत छन् । किनकि सरकारी प्रताडना पूर्ण रूपमा कानूनी हुन्छन् । सरकार भनेको भगवान्जस्तै शक्तिशाली तत्त्व पो हो त । भगवान्ले गरेको कुरामा प्रश्न उठाउन त पाइन्न नि । आफू धन्दा चलाउन नजान्ने, दोष दल र सर्खारलाई दिने ? उद्योग सुद्योग चलाउन, व्यापार गर्न पो सरकारले प्रताडित गरेको हो । धन्धा चलाउन त उक्साएकै छ । धन्धा गर्न छोडेर उद्योग व्यापार जोड्ने काममा लागेपछि सरकारले सहन्छ त ? त्यसैले सबै काम छोड्नुस्, धन्धा गर्न लाग्नुस् । धन्धा गर्न नजानेको भए तलका कुरा पढ्नुस् । धन्धा गर्ने असली तरीका यो हो कि तपाईं आफ्नो साथमा कुनै एउटा राम्रो दलाल पाल्नुस् । अझ यो राम्रो हुन्छ कि तपाईं आफ्नो पाइन्टको खल्तीमा एक–दुई नेता नै किनेर राख्नुस् । सकेसम्म फरक फरक दलका नेता किन्नुस् । अँ नेता चिनेको छु भनेर मख्ख चाहिँ नपर्नुस् नि है, चिनेको भन्दा किनेको चाहिँ पक्का काम लाग्छ । हिजोआज त कतिपय बुद्धिमान् मान्छेहरूले ४–५ दलका नेता खरीद गरेर राखेका हुन्छन् ।  किनेर राखेका नेताले जहिले पनि काम दिन्छन् । भन्सारबाट तपाईंले विदेशबाट ल्याएका सुन, चाँदी भन्सार शुल्क नै नतिरी सित्तैमा छुटाइदिन्छन् । कथम्कदाचित् सेटिङ बिग्रिएर सुन समातियो भने पनि पीर नगर्नुस्, सुन जाला तर तपाईंलाई चोखै बचाइदिन्छन् । सरकारी जग्गा तपाईंका नाममा नामसारी गराइदिन्छन् । छानबिन भएछ पनि तपाईंलाई तर्काइदिन्छन् । किनिएका नेताले तपाईंका मान्छेलाई आफूले इच्छाएको ठाउँमा सरुवा, बढुवा गर्नेदेखि आयकरमा गडबढ गराउनेदेखि ठेक्कापट्टा दिलाउनेसम्मका काम मजैले गर्न, गराउन विशेष खुबी राख्छन् । यी नेता आवश्यक पर्‍यो भने प्रहरीसँग समन्वय अर्थात् सेटिङ मिलाउन सक्छन् । असली देउता बरु चुक्लान्, यी चुक्दैनन् । अब कहाँ किन्ने यस्तो नेता भन्नुहोला ? चिन्ता लिनै पर्दैन । बजारमा हरेक आकार प्रकारका एक से एक नेता हर समय विक्रीका लागि उपलब्ध छन् । एकातिर नयाँ नेता, अर्कातिर पुराना नेता, बोली बोली भ्याउने नेता, नबोली नबोली सिध्याउने देउता, सिन्को नभाँची सोसल मिडिया हल्लाउने नेता, म रिसाए सिध्याइदिन्छु धन्दै धम्क्याउने नेता । तपाईंलाई जस्तो चाहियो रोजीरोजी पाउनुहुन्छ । ती नेता नै तपाईंलाई खोजी खोजी आउँछन् । देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू । चुनावको मौसममा त नेताहरू फुटपाथमै बिक्न तयार हुन्छन् । यो गल्ली, त्यो गल्लीदेखि चौबाटोसम्म हर प्रकारका नेता विक्री हुनका लागि तम्तयार । कतिपय नेताहरू त मान्छेहरूका हातमा विक्री हुनुलाई आफ्नो धर्म ठान्छन् । अझ एउटा नेता जब अर्को नेतालाई किन्छ भने तब किन्नेवाला नेता सर्वोच्च नेतामा दरिइहाल्छ । अर्को शब्दमा भन्नुपर्दा त्यो उच्च नेता उच्चस्तरको लुच्चा बन्छ । जुन नेताले अरू नेतालाई खरीद गर्छ, त्यो नेता सबैभन्दा ठूलो कुर्सीमा विराजमान हुन पुग्छ । यस्ता नेता ठूल्ठूला होटलहरूमा, रिसोर्टहरूमा गएर एकदमै प्रेमपूर्वक आफ्नो लिलामी आह्वान गर्छन् ।  देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा त प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू । प्रदेशका मात्र हैन, संघीय वा केन्द्रीय राजधानीमा त झन् बिक्ने नेताहरूको ठूलै भीड उपलब्ध छन् । जान्ने मान्छेहरूले विहारतिर जस्तै आफ्ना आफ्ना ढंगका नेता किनेरै राखेका हुन्छन् । हिजोआज प्रत्येक घरमा वा अफिसमा एउटा न एउटा किनिएका नेता चाहिन्छ क्या ! घरको ढल सफा गर्नु छ भने नेता आवश्यक । घर पछाडि मरेको कुकुर हटाउनु छ त नेता आवश्यक । दुई हप्तामा एकचोटि मात्र धारामा पानी आयो भने पनि यसको प्रार्थनाका लागि पनि एउटा नेताको एकदमै आवश्यकता हुन्छ । यता अफिसमा पनि बिजुलीको बिलमा छुट दिलाउनेदेखि कतिपय सरकारी कार्यालयमा गुट मिलाउनेसम्ममा नेताकै आड, भरोसा वा आशीर्वाद चाहिन्छ । त्यति मात्र होइन, एउटा टोले गुन्डाको नेता त झन् नभई हुँदैन । सबैभन्दा पहिला काम लाग्ने त त्यही हुन्छ ।  यसरी नागरिकता बनाउन होस् वा सवारी लाइसेन्स लिन, विदेश जाने फारम भर्न होस् वा कसैलाई धाकधम्की गर्न सबैतिर नेताको आवश्यकता पर्छ । बिचरा नेताले तपाईंबाट के नै पाउँछ र ? केवल उसको र्‍यालीमा केही बेर उसको जयजयकार ! उसका भोटका लागि भीड लावालस्कर बन्दिनु । उसका खराब काममा हो हो मा हो हो मिलाउनु । समय समयमा उसका लातहरू सहनु, बेला बेलामा ‘राष्ट्रिय शब्द’का बातहरू सुन्नु । यत्ति मात्र त हो । अरू त के नै चाहिन्छ र ? नेताजीले मागेको रकम दिनुस् र आफ्नो काम लिनुस् । त्यसैले, उठ्नोस् प्रभु ! तपाईं पनि शिरक छाड्नुहोस् र एउटा नेता खरीद गरेर ल्याउनुस् । नेताले चाह्यो भने गर्मीमा हिउँ पार्न सक्छन् र चिसो मौसममा पसिना निकाल्ने गर्मी बढाउन सक्छन् । एक घर एक रोजगार हैन । अब त एक परिवारमा एक नेता चाहिन्छ । खल्ती खल्तीमा नेता कोच्नुहोस् । हो भन्या ! धन्धा चलाउनुस्, अरूका मन जलाउनुस् । अकुत सम्पत्ति जोड्नुस्, कानूनका जालोहरू तोड्नुस् । समय चिन्नुस्, नेता किन्नुस् । आउनोस्, यो सुवर्ण अवसर नचुकाउनुहोस् । समय छँदै एउटा न एउटा नेता किनिहाल्नुहोस् है हजुर !

सम्बन्धित सामग्री

‘गिरि अनुसरणीय नेता’

नेपाली कांग्रेसका नेताहरूले पार्टी नेता प्रदीप गिरिलाई एक महान दार्शनिकर समाजवादी नेता भएको स्मरण गरेका छन्।...

नागरिक नसुध्रिए नेता सुध्रिँदैनन्

समाजले आफ्नै हैसियतअनुसारको नेता पाउँछ भन्ने भनाइमा कहीँ न कहीँ सत्यता छ । कुनै पनि समाजलाई नेतृत्व गर्ने नेता त्यही समाजबाट आउने हो । उसको आचरण त्यही समाजको प्रतिबिम्ब हो । राजनीति र...

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

नेता

उनले बोल्न मात्रै के थालेका थिए केटाकेटी चिच्याउन थाले, ‘हैन फेरि यही मान्छेको भाषण? केही काम छैन कि क्या हो बा यो मान्छेको अरू? सधैं भाषण मात्रै गरिराख्छ।’ मैले भनें,‘नेता हो नेता। नेताको काम नै भाषण गर्ने त हो।’...

एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेता

एक पार्टीले अर्कालाई धावा बोल्दै संसद् भवन कुरुक्षेत्र बनाउन उत्रिन्छन् बदनामी गर्दै बकम्फुसे नारामा देशलाई आगो नभएको चुल्हो बनाउँदै छन् यी नेता न इमानदारी बुझ्छन् न बफादारी बुझ्छन्।...

वामपन्थी नेता मानन्धरको अन्त्येष्टिमा पुगे शीर्षस्थ नेता

काठमाडौं : नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टिमा शीर्षस्थ नेताहरु पुगेका छन्।मंगलबार आर्यघाटमा गरिएको अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड‚ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल‚ सभामुख अग्नि सापकोटा‚ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत पुगेका थिए।नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको थियो।

कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जली दिन नेता–कार्यकर्ता सानेपामा (फोटोफिचर)

कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली दिएका छन् । कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता सानेपा पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका हुन् ।...

हामीलाई कस्तो नेता चाहियो?

के हामी साँच्चै दूरगामी महत्वका एजेन्डा बोक्ने, इमान्दार र 'राम्रो' नेता खोजिरहेका छौं कि आफूलाई व्यक्तिगत रुपमा लाभ दिने 'हाम्रो' नेता खोजिरहेका छौं?

गीतकार नेता

राजनीतिको पृष्ठभूमिका गीत–संगीतको भूमिका महत्वपूर्ण छ । त्यसैले पनि होला, राजनीतिमा सक्रिय कतिपय नेता विभिन्न कालखण्डमा यससँग निकट भए । राजनीतिक व्यस्तताबीचमै पनि गीत–संगीतमा सक्रिय नेता अहिले पनि छन् । प्रधानमन्त्रीदेखि विद्रोही पार्टीका नेतासमेत गीत लेख्छन् ।