भदौ २३, बागलुङ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीवारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।
व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नु परेकाले मूल्य बढाउनु परेको बताउँछन् ।
स्थानीय किसानबाट खरीद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उनीहरुको गुनासो छ । एक साता अघि रू. ६० पर्ने गोलभेँडा अहिले रू. १२० मा खरीद गर्नु परिरहेको व्यवसायी नारायण सुवेदीले बताए ।
‘स्थानीय उत्पादन न्यून भएकाले खरीद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ’, उनले भने । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मूल्य नपाएको व्यवसायी बताउँछन् ।
वर्षायाम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहे अनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोट हुँदै फलफूल ढुवानी गर्नु परिरहेकाले दोब्बर भाडा तिर्नु परिरहेको बताउँछन् । एक किलो स्याउ रू. तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताए । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रू. १५० थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढंगले मूल्य लिन नपाउने बताउँछन् । आजैदेखि बजार अनुगमन थालिएको उनको भनाइ छ । ‘अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ’, विकले भने । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् ।
चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी/फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ । रासस