इच्छाराज तामाङको सिटीसी मल लिलामी गर्न मूल्याङ्कन प्रक्रिया शुरु गर्दै सञ्चय कोष

पुस २०, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाउने भएको छ। कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढेको सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए। धितोमा रहेको सम्पतीको मूल्याङकन गर्ने विषयमा कोषमा छलफल भइसकेको छ। केहि दिनमै मूल्याङ्कनका लागि कोषले टोली खटाउने पनि उनले बताए। कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सुन्धारास्थित सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो। कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा पसलहरु धितो राखिएको थियो। मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन्। व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन्। ऋण असुलीका लागि कोषमाथि दवाव नेपाल वायुसेवा निगमलाई दिएको अर्बौ रुपैयाँ ऋण उठाउन नसकेको भन्दै संसदिय समितिबाट निरन्तर दवाव झेलीरहेको सञ्चय कोष सिटीसी मलमा फसेको ऋण जसरी पनि उठाउनु पर्ने दवावमा छ। अर्कोतर्फ मलका सञ्चालकहरु नै सर्वसाधारणको पौने ६ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा जेल चलान भइसेकाले कोषले ऋण फिर्ता हुन्छ भनेर कुर्ने अवस्था पनि छैन।जमानीकर्ताहरुले चाहेर पनि इच्छाराजले अपचलन गरेको रकम तिर्नै नसक्ने भएकाले यतिबेला उनको नाममा भएको सम्पती लिलाम हुने आधार बलियो बनेको छ। अव सञ्चय कोषको यो ऋण असुलीका लागि कोषसँग दोस्रो विकल्प नै नभएकाले ढिलो चाडो मल लिलामीको प्रक्रिया अघि बढ्ने कोषको भनाइ छ। सञ्चय कोषले लिने सावा ब्याजको अंश थोरै भएपनि मल लिलामी भएमा यो नेपालकै ठूलो मध्येको लिलामी हुने छ। कति छ सिटीसी मलको बजार मूल्य ? इच्छाराज तामाङका अनुसार आजभन्दा एक वर्ष अघि नै सिटीसी मलको बजार मूल्य पौने ७ अर्ब रुपैयाँ रहेको थियो। पछिल्लो एक वर्षमा घरजग्गाको मूल्य १० प्रतिशतले वृद्धि हुँदा पनि यसको बजार मूल्य करीब साढे ७ अर्ब रुपैयाँ हुने देखिन्छ। मल निर्माण गर्नै तामाङले करीब २ अर्ब ५० करोड रुपैयाँ खर्च गरेका थिए। त्यतिबेला इच्छाराजले आफूलाई अफ्ठेरो पर्दा सिटीसी मललाई ५ अर्ब रुपैयाँमा सजिलै बेच्न सक्ने र त्यति पैसाले सबै ऋण लाइन लगाएर तिर्न सक्ने बताएका थिए। तर उनले भने जस्तो समय नआउँदै उनी प्रहरीको अनुसन्धानमा तानिएर जेल चलान भइसकेका छन्। सिटीसी मलमा तामाङको ५० प्रतिशत स्वामित्व रहेको छ। यस हिसाबले मलमा उनको स्वामित्व तीन देखि साढे तीन अर्ब रुपैयाँ हुने देखिन्छ। उनको नाममा अहिलेसम्म पौने ६ अर्ब बिगो कायम भइसकेकोले छ। उक्त सबै रकम चुक्ता गर्न  तामाङको सिटीसी मलसहित उनको श्रीमती र छोरीका नाममा काठमाडौं भित्रै विभिन्न ठाउँमा रहेका घरजग्गासमेत लिलाम गर्नुपर्ने छ। कीर्तिपुरमा मात्रै इच्छाराजको १५ रोपनी जग्गाका साथै २६ हजार वर्गफिटको भव्य बंगलो रहेको छ।