काठमाडौंमा दिउँसै खुकुरी हानेर लुटपाट, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलमा खुकुरी प्रहार गरी दिउँसै लुटपाट भएको छ । लुटेरा समूहको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् भने सो समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो । चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । खोजतलासका क्रममा लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं असन बस्ने रोहन नेपाली शाही (२९ वर्ष), थानकोट बस्ने भय तुलाधर, (२२ वर्ष), जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने हरि शर्मा (२६), चक्रपथ बस्ने अमित तुलाधर (२७) र सोही स्थानका रोहित शाही (१८ वर्ष) रहेका छन् । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।