माघ २३, काठमाडौं । जलविद्युत् कम्पनीहरुले त्रैमासिक रुपमा प्रकाशन गर्ने वित्तीय विवरणहरु एउटै फर्मेटमा नहुँदा वित्तीय विवरण अध्ययन गर्ने अध्याताहरु झुकिने गरेका छन् ।
विद्युत् कम्पनीहरुलाई नियमन गर्ने नियामक निकाय विद्युत् नियमन आयोगले एक रुपमा यस्ता वित्तीय विवरण प्रकाशन गर्न कम्पनीहरुलाई निर्देशन नदिएका कारण समस्या आएको हो ।
तर, नियमन आयोगले यो कुरालाई नोटिस गरेको जानकारी दिएको छ । यसका लागि नियमन आयोगले आवश्यक प्रक्रिया थाल्ने विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थले जानकारी दिए । ‘अहिले जलविद्युत् कम्पनीहरुले आफ्नो हिसाबले वित्तीय विवरण प्रकाशन गर्दै आएका छन् । त्यही भएर पनि वित्तीय विवरणमा सबै कम्पनीहरुको एक रुपता छैन् । एक रुपता ल्याउने हामीले सोचिरहेका छौं । यो आवश्यक पनि छ,’ उनले भने ।
विद्युत् कम्पनीहरुले प्रकाशन गर्ने वित्तीय विवरणमा आवश्यक कुरा खोज्न समय खर्चनु पर्ने बाध्यता छ । यसलाई नियमन आयोगले एक रुपता ल्याए सहज हुने देखिन्छ । ‘यो आवश्यक कुरा नै हो । यसरी एक रुपता ल्याउन सकियो भने आम लगानीकर्ता र वित्तीय विवरण अध्ययताहरुलाई आवश्यक कुरा खोज्न धेरै समय खर्चनु पर्ने छैन्,’ उनले भने ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४५ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत छन् । यी कम्पनीहरुले त्रैमासिक रुपमा प्रकाशन गर्ने वित्तीय विवरण आफ्नै फर्मेटमा हुने गरेका छन् । सबै जलविद्युत् कम्पनीहरुलाई एक रुपमा वित्तीय विवरण प्रकाशन गर्ने व्यवस्था गर्दा वित्तीय विवरण तयार पार्ने र अध्ययन गर्नेलाई सहज हुने पन्थको भनाई छ । यो विषयलाई आयोगले प्राथमिकता दिएको उनले बताए ।
अहिले नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा समितिको निर्देशनमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले एउटै फर्मेटमा वित्तीय विवरण प्रकाशन गरिरहेका छन् । यसले कम्पनीका वित्तीय विवरण अध्ययन गर्न सहज हुने गरेको छ । तर, जलविद्युत कम्पनीलाई नियमन गर्न स्थापना भएको आयोगले आफ्नो प्रभावकारीता देखाउन नसकेको जानकार बताउछन् ।