लक्ष्मी इक्विटी फण्डको धितोपत्रमा भएको लागत मूल्यभन्दा बजारमूल्य बढी

चैत ११, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको फागुन महीनामा धितोपत्रमा भएको लगानीको लागतमूल्य भन्दा बजारमूल्य बढी कायम भएको छ ।  फण्डले शुक्रवार सार्वजनिक गरको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार बजारमूल्य रू. १ अर्ब ९ करोडभन्दा बढी कायम भएको हो ।  फण्डले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. १ अर्ब ३ करोडभन्दा बढी, सार्वजनिक निष्कासनमा रू. १७ लाख ५१ हजारभन्दा बढी र ऋणपत्र तथा बन्डमा रू. ५ करोड ४१ लाखभन्दा बढी कायम भएको हो ।  फागुन मसान्तसम्म योजनाले उल्लेखित धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ९६ करोड ४८ लाखभन्दा बढी रहेको छ । यस फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य माघ महीनाको तुलनामा पनि बढेको हो । माघ महीनासम्म यो मूल्य रू. १ अर्ब ४ करोडभन्दा बढी थियो । १२ करोड ५० लाख इकाई विक्री गरेको बन्दमुखी प्रकृतिको यस फण्डको फागुन मसान्तसम्म प्रति इकाई खुद मूल्य रू. १२ दशमलव ३५ रहेको छ । यो मूल्य माघ मसान्तसम्म रू. १२ दशमलव ८० रहेको थियो । माघ महिनाको तुलनामा फागुन महीनामा फण्डको प्रति इकाई खुद मूल्यमा भने कमी आएको छ ।  माघ महीनाको तुलनामा फण्डको नाफा पनि फागुन महीनामा घटेको छ । माघ महीनामा रू. २५ करोड ८५ लाखभन्दा बढी नाफा गरेको फण्डले फागुन महीनामा रू. २४ करोड २० लाखभन्दा बढी मात्र नाफा गरेको हो । यो महीना फण्डको आम्दानी रू. २६ करोड ४ लाखभन्दा बढी भएको छ भने खर्च रू. १ करोड ८४ लाखभन्दा बढी छ ।  माघ महीनामा फण्डले रू. ३१ करोड ४७ लाखभन्दा बढी आम्दानी गरेको थियो भने रू. १ करोड ६१ लाखभन्दा बढी खर्च गरेको थियो । माघको तुलनामा फागुन महीनामा योजनाको आम्दानी कम र खर्च बढी भएकाले पनि नाफामा कमी आएको हो ।