सरकारको गलत कर नीतिका कारण तस्करी बढ्यो : उपभोक्तावादी

विराटनगर। सरकारको गलत कर नीतिको कारण तस्करी मौलाएको र चाडपर्वमा नेपाली बजार सुक्ने, तर सीमा नजिकका भारतीय बजार गुल्जार हुने गरेको उपभोक्ताको गुनासो छ । सरकारले दैनिक उपभोग्य वस्तुमा अत्यधिक कर लगाएकाले त्यस्ता वस्तु भन्सार नाकाबाट नभई तस्करीमार्फत नेपाल भित्रिरहेको बताइएको छ । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरूले सरकारको गलत भन्सार नीतिका कारण चाडबाडमा विराटनगरको बजार सुनसान हुने गरेको बताए । ‘आसन्न चाडपर्व र हाम्रो साझा दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले चिनी, तयारी कपडा लगायत सामग्रीमा ३० प्रतिशतभन्दा बढी भन्सार महसुलका साथै मूल्य अभिवृद्धि कर लगायत कारण चोरीपैठारी बढेको गुनासो गरे ।  ‘देशमा वार्षिक तीन लाख टन चिनी खपत हुन्छ । स्वदेशी उत्पादन एक लाख जति छ । त्यसमा पनि दुई/चार जना चिनी मिलका मालिकलाई पोस्नेगरी सरकारले आयातित चिनीमा चर्काे कर लगाउँदा आम उपभोक्ता मारमा परिरहेका छन्,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने । सरकारको अव्यावहारिक नीतिका कारण व्यापारी, उद्योगी र आम जनता मर्कामा परेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । उपभोक्तालाई नेपाली बजारमै भारतीय बजारमा सरह सामान उपलब्ध गराउने गरी सरकारी नीति आउनुपर्नेमा उनले जोड दिए ।  सरकारको नीतिका कारण आम उपभोक्तामाथि थपिएको मूल्यवृद्धिको असर अन्त्य हुनुपर्ने धारणा संघका महासचिव अनिल सारडाले राखे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बजार अनुगमन नियमित भइरहेको र गलत गर्नेहरूलाई कारबाही पनि भइरहेको बताए । स्थानीय पालिकाहरूसँग पनि समन्वय गरेर बजार अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरले नियमित बजार अनुगमन गरिरहे पनि कानूनी अधिकारको अभावमा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकारे । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अशोक गुरागाईं र वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयकी निमित्त प्रमुख ऋचा हुमागाईंले ती कार्यालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए ।