महेन्द्रनगरमा होटल व्यवसायी महासंघको बैठक : पश्चिमी नाका गड्डाचौकीमा पर्यटन सेवा केन्द्र निर्माण गरिने

महेन्द्रनगर । होटल व्यवसायी महासंघ नेपालको चौथो केन्द्रीय कमिटीको बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठक महासंघ अध्यक्ष हिराध्वज शाहको अध्यक्षमा सम्पन्न भएको हो । बैठकले महासंघको समसामयिक विषयमा १५ वटा एजेन्डामाथि छलफल गर्दै महत्वपूर्ण निर्णय गरेको महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले बताए । उनका अनुसार बैठकले पश्चिमी नाका गड्डाचौकीमा पर्यटन सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ । केन्द्र निर्माणका लागि भीमदत्त नगरपालिकाले जग्गा उपलब्ध गराएको भने त्यसमा आवश्यक पर्यटकीय सूचना केन्द्र तथा पर्यटन प्रवद्र्घन पूर्वाधार निर्माण गर्न नेपाल पर्यटन बोर्ड, संघीय, प्रदेश र स्थानीय सरकारबाट सहयोग लिएर महासंघले होटल व्यवसायी संघ कञ्चनपुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरिएको हो । त्यस्तै, महासंघले सुदूरपश्चिम भ्रमण योजनालाई पनि अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि महासंघका पर्यटन सचिव परमानन्द भण्डारीलाई जिम्मेवारी तोकिएको छ । होटल व्यवसायी महासंघको आगामी साधारणसभा आउँदो पुसभित्र आयोजना गर्न महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै, नेपालभरका होटल व्यवसायको प्रचार–प्रसार गर्दै पर्यटन प्रवर्द्धनका निम्ति वोर्ड र तीनै तहका सरकारसँग समन्वय गरी पर्यटन डायरी २०७८ प्रकाशन गर्ने लगायतका निर्णय महासंघले गरेको छ । होटल व्यवसायी संघ कञ्चनपुरले महासंघको केन्द्रीय बैठकको पूर्वसन्ध्यामा महेन्द्रनगरमा बृहत् अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटनमन्त्री सन्तोष धामी, भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दलगायत पर्यटन व्यवसायी सहभागी थिए ।