कलेजो प्रत्यारोपण अब चितवनमा पनि पुरानो मेडिकल कलेजले पायो अनुमति

अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिर पनि पाइने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो । समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने बताइएको छ । पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो ।