वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाइँ सर्ने क्रम बढिरहेको छ । राम्रो शिक्षा, रोजगारीको अवसरलगायतका कारण सुर्खेत वीरेन्द्रनगरमा पछिल्लो समय मनोरञ्जनको क्षेत्र पनि विस्तार हुँदै गएको छ । यहाँ दोहोरी साँझ, मसाज पार्लर, ब्युटी पार्लर खुल्ने क्रमसँगै विभिन्न साङ्गीतिक इभेन्ट पनि बढेको छ तर यस्ता मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकको ज्याला भने ज्यादै न्यून हुने गरेको पाइएको छ । श्रमिक महिला रक्षा सङ्घले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकले पारिश्रमिक थोरै पाउने गरेको, असुरक्षित महसुस गर्ने गरेको जस्ता गुनासो राखेका छन् ।