विराटनगर (अस) । सिद्धार्थ बैंकको प्रदेश कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैंक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
विपत्ति परेका बेला बैंकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए । कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष पनि बैंकले प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव राजेन्द्रकुमार पौडेल उपस्थित थिए ।