आज बालाचतुर्दशी पर्व । मार्गकृष्ण चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने प्रचलन छ । काठमाडौँको पशुपति, मृगस्थलीमा ठूलो भीड लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाका कारण रन्थनिएको यो क्षेत्रमा यसपालि भने रौनक हुने देखिएको छ । शास्त्रका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णसरह हुने, दिवङ्गत पितृले संसारमा भट्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने विश्वास छ ।