काठमाडौं। दुई साताअघि विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)ले उत्कृष्ट पर्यटकीय गाउँ २०२३ सार्वजनिक गर्यो । यसमा विश्वभरका पर्यटकीय गाउँ समेटिन्छन् । यो सूचीमा परेका गाउँहरू पर्यटकको रोजाइमा पर्ने सम्भावना उच्च रहन्छ ।
उक्त संगठनले विश्वका विभिन्न २९ देशका ५४ गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’को सूचीमा समावेश गरेको हो । तर, चर्चित पर्यटकीय गन्तव्यहरूभएको नेपालका कुनै पनि गाउँ यो सूचीमा समेटिएका छैनन् ।
पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले वास्ता नगर्दा नेपालले विश्व बजारमा आफ्ना पर्यटकीय ठाउँ चिनाउने एउटा प्रभावकारी अवसर गुमाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लामो समयदेखि यो संगठनको सदस्य छ । तर मन्त्रालयका अधिकारीहरू यस विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन् । यतिसम्म कि मन्त्रालय र पर्यटन बोर्डका अधिकारीलाई यो सूची सार्वजनिक भएको कुरा पनि जानकारी छैन ।
बरु मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले यूएनडब्ल्यूटीओले आवेदन नै माग नगरेको भनेर आफ्नो बचाउ गरे । ‘आवेदन माग गरेको खण्डमा नेपाल पछि हट्ने कुरा थिएन,’ उनले भने, ‘संगठनले सदस्य राष्ट्रसँग आवेदन माग गरेन । उसले विभिन्न सूचनाका आधारमा नामावली सार्वजनिक गरेको होला, आवेदन माग गरिएको आधिकारिक जानकारी भएन ।’
यूएनडब्ल्यूटीओले भने २६० आवेदनबाट ५४ ओटा गाउँलाई उत्कृष्ट पर्यटन गाउँका रूपमा छनोट गरेको जानकारी दिएको छ । संगठनले यस्तो सूची तेस्रोपटक प्रकाशित गरेको हो ।
सहसचिव केसी भने संगठनले स्वमूल्यांकनबाट पनि उत्कृष्ट सूची सार्वजनिक गर्ने र आवेदन माग गरेर पनि यस्ता सूची सार्वजनिक गर्ने प्रचलन रहेको बताउँछन् । ‘नेपालले पहल नगरेर नेपालका पर्यटन गाउँ छुटेको भन्ने होइन,’ केसीले दाबी गरे । तर, नेपालले आवेदन नदिएका कारण सम्भावित पर्यटन गाउँ छनोट नभएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी भने उक्त संगठनको सदस्य मन्त्रालय भएकाले उसले नै पहल गर्नुपर्ने तर्क गर्छन् । बोर्ड पाटाको सदस्य भएको र त्यसले माग गरेअनुसार आवेदन दिएर गोल्ड मेडल नै जितिसकेको उनले बताए । ‘तीनवर्षदेखि गोल्ड मेडल जितेका छौं,’ रेग्मीले भने, ‘उक्त संगठन र त्यसले छनोट गरेको पर्यटन गाउँको विषय बोर्डको हातमा हुँदैन, यो विषय मन्त्रालयले हेर्ने हो ।’
पर्यटन मन्त्रालय भन्छ – जानकारी पाएनौं
पर्यटन बोर्ड भन्छ – हाम्रो काम होइन
पर्यटन प्रवर्द्धनमा सरकारी निकायको बेवास्ता नयाँ घटना भने होइन । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २००८ को एउटा यस्तै घटना सुनाए । उनका अनुसार त्यसबेला चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउँछौ भन्दै त्यसनिम्ति एउटा अनुरोधपत्र लेख्न नेपाल सरकारलाई सुझाएको थियो । त्यो बेला अधिकांश चिनियाँ पर्यटक आफ्नो सरकारले सिफारिश गरेको मुलुकमा घुम्न जान्थे । ‘तर, नेपालका नियामकले त्यसमा वास्ता गरेनन्,’ शाक्यले भने । नेपाल भ्रमण वर्ष २०११ मा पनि बेइजिङले १० लाख चिनियाँ पर्यटक पठाउने कुरा गरेको उनले सुनाए । ‘त्यो बेला पनि मन्त्रालयलाई पत्र पठाउन भनियो । मन्त्रालयले पत्र पठाएपछि ८ हजार हाराहारी रहेको चिनियाँ पर्यटक आगमन बढेर ४० हजारभन्दा माथि पुग्यो,’ उनले भने । मन्त्रालय तथा सरकारी अधिकारीहरू आवश्यक कुराको पहलमा सधैं चुक्ने गरेको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा धेरै यस्ता गाउँ भएको बताए । ‘बाहिर धेरै प्रचारप्रसार हुन सकेका छैनन्,’ उनले भने, ‘यस कारणले पनि सूचीमा नपरेको हुन सक्छ । अर्काेतर्फ आवेदन माग्ने वा नेपालले दिने तरीकाअनुसार पनि हुन्छ ।’ संगठनले आवेदन माग गर्छ भने त्यसमा आवेदन दिएर छनोट हुने/नहुने भन्ने हुन्छ, अर्काे सम्भावित गाउँहरू सर्वेक्षणबाट पनि छनोट हुन्छन् ।
‘मुख्यगरी राम्रा गाउँहरू पर्यटकीय सम्पदा हुन् र यहाँ पर्यटकीय गतिविधि भइरहेका छन् भन्ने सन्देश नै पुग्न सकेको छैन,’ जोशीले भने, ‘मानौं पहिला घान्द्रुक, सिरुबारी, घलेगाउँलगायत राम्रो अनुभव दिने गाउँहरू छन्, यहाँ आउनेले राम्रो अनुभव लिएर पनि जान्छन् तर तिनको विश्वव्यापी प्रचार हुन सकेको छैन ।’ नयाँ सेग्मेन्टका पर्यटकीय क्षेत्रको धेरै प्रचार गर्नुपर्नेमा उनले जोड दिए ।
डिजिटल मिडिया, टुर अपरेटर्स, देशबाहिर गरिने इभेन्टहरूमा नेपालले यस्ता गाउँका विषयमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । गन्तव्यहरूका विषयमा जानकारी, सचेतना बढाउन एकदमै जरुरी भएको भन्दै जोशीले नेपाल पर्यटन बोर्डले पनि प्रचारप्रसारका लागि थप अग्रसर हुनुपर्नेमा जोड दिए ।
उज्वेकिस्तानको समरकन्दमा भएको यूएनडब्ल्यूटीओको महासभाले विश्वका २९ देशका गाउँलाई उत्कृष्टका रूपमा छानेको थियो । उक्त सूचीमा पेरुका सर्वाधिक पाँच गाउँ परेका छन् । यस्तै जापान र चीनका ४–४ गाउँ उत्कृष्ट छानिएका छन् । चिली, स्पेन, दक्षिण कोरिया र मेक्सिकोका ३–३ गाउँ उक्त सूचीमा समावेश छन् । भारतको धोद्रो गाउँ पनि परेको छ ।
उक्त संगठनले उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन वातावरण स्थिरता र पर्यटन विकास र मूल्य शृंखला एकीकरणलाई आधार बनाएको छ । यस्तै सुशासन र प्राथमिकता, पूर्वाधार, कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षालाई पनि यसको आधार मानिएको छ ।