सम्पादकीय: नेपाली दूध नबिक्ने तर बाहिरबाट आयात गर्ने गल्ती नहोस्

दुर्गम जिल्लामा दूध संकलनका लागि नजाने डेरी उद्योगीहरूले भारतबाट दूध ल्याउन फेरि ‘लबिइङ’ थाल्नु नामुनासिब छ । नेपाली उपभोक्ताका लागि मुलुकभित्र उत्पादित दूधले पुग्दै नपुग्ने अवस्थामा मात्रै आयातको विकल्पमा सोच्नुपर्छ । तर आज यहीँका सहरआसपास भन्दा बाहिरका दुग्ध उत्पादकहरूले बजार नपाइरहेका बेला भारतबाट दूध ल्याइएमा नेपाली किसानहरूको हित त हरिन्छ नै, आत्मनिर्भर कृषि–अर्थतन्त्रको लक्ष्यमा पनि आघात पुग्छ । त्यसैले, सरकारले कुनै पनि हालतमा दूध आयातको निर्णय गर्नु हुन्न ।