काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्ना कर्मचारीको पेशागत दक्षता अभिवृद्धिको लागि गत हप्ता चितवनको सौराहामा दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिलाई ध्यानमा राखेर कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटी लगायतले मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहभागी कर्मचारीले नवीन ज्ञान र उत्साहको सञ्चार भएको प्रतिक्रिया दिएका थिए । मर्जरसँगै कम्पनीले बजार विस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार विस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्र नभई प्रदेशस्तरका कर्मचारीलाई पनि उत्तिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको कम्पनीको भनाइ छ ।