सिनर्जी पावर : कम्पनी विश्लेषण (बिहीवार, २० जेठ २०७८)

कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा साढे १३ प्रतिशत कम रु. ६ करोड २६ लाख ५३ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष विद्युत् विक्री आम्दानीमा १० दशमलव ४५ प्रतिशतमा कमी आउँदा कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष विद्युत् विक्रीबाट रु. १६ करोड ८० लाख ४६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रु. १५ करोड ४ लाख ८३ हजार मात्र आम्दानी गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. ७३ करोड ३२ लाख ५० हजार रहेको छ भने जगेडा कोष रकम पनि ऋणात्मक अवस्थाबाट सुधारिएको छ । गत वर्ष रु. ७ लाख ७७ हजार ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष रु. ६ करोड ३४ लाख ८१ हजार कायम भएको छ । बुधवार कम्पनीको अन्तिम शेयर मूल्य रु. ४२९ कायम भएको छ । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६७ दशमलव ६२ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव २१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. ४२९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४०५ मा टेवा पाउनेर महँगिए रु. ४४९ मा प्रतिरोध पाउने देखिन्छ ।