प्राधिकरणको विद्युत वितरण प्रणाली अस्तव्यस्त, ८ लाख यूनिट बिजुलीको आपूर्तिमा समस्या

वर्षा र हिमपातका कारण नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली अस्तव्यस्त बनेको छ । वर्षा र हिमपातका कारण देशभर चिसो बढेपछि वितरण प्रणालीमा समस्या आएको हो । बिहीबारदेखि चट्याङ सहितको वर्षासँगै विद्युत आपूर्तिमा देशभर समस्या आएको हो । बिहिबार रातीदेखि परेको पानी शुक्रबार दिनभर पनि नरोकिएपछि प्राधिकरणको वितरण लाइनमा समस्या आएको हो । विद्युत प्राधिकरणका अनुसार काठमाडौँ उपत्यका सहितका देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा अवरोध आइरहेको छ । आपूर्ति प्रणालीमा अवरोध आएपछि ८ लाख यूनिटभन्दा बढी विद्युत ऊर्जा वितरण हुन सकेन ।करिब महिना दिन अघि समस्या आउँदा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा समस्या नआउने गरी समस्या समाधान गरिएको दाबी गरेपनि पुनः वितरण प्रणाली अस्तव्यस्त बनेको हो । विद्युत प्राधिकरणका अनुसार बिहीबरको विद्युत माग १६ सय ११ मेगावाट थियो । तर, रातीदेखि नै विभिन्न ठाउँमा ट्रान्सफरमरमा समस्या आउन थालेपछि माग बढ्न नसकेपनि प्रणालीमा भएको विद्युतबाट ८ लाख यूनिट विद्युत आपूर्ति हुन नसकेको हो ।देशभर २ करोड ९५ लाख ७३ हजार यूनिट विद्युत माग रहेको भएपनि यसमा ८ लाख यूनिट विद्युत आपूर्ति गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।