टेलिभिजनमा अन्तर्वार्ता आइरहेको हुन्छ । सेलिब्रेटी भनिने मान्छे जीवनका अन्तरकुन्तरहरूको पोकापुन्तरा फुकाइरहेको हुन्छ । कति इमानदार हुँदैछ, त्यो ऊ आफै जानोस् तर ठीक भन्दैछु भन्ने छनक पार्न पारङ्गत नै हुन्छ ऊ । यस्तैमा प्रश्नकर्ता सोधिदिन्छन्, “तपाईंको जीवनको अविस्मरणीय क्षण ?”
सेलिब्रेटी एकछिन घोत्लिन्छ । “धेरै छन्, अब कुन चाहिँ भन्ने” भनेर विलखबन्दमा परेझैँ गर्छ । अनि झट्ट केही सम्झे झैँ गरी बोल्छ– “ओके, एकचोटि के भयो भने... ।”
यस्ता दृश्य बग्रेल्ती हेरिरहँदा म सोच्थेँ, “एक दिन म पनि हुनेछु सेलिब्रेटी । मैले पनि सुनाउनै पर्छ अविस्मरणीय क्षण । त्यसैले अहिलेदेखि नै तयार गर्नु छ भोगाइका सूची । पीडादायी नै होस् बरु । जसै सोझिन्छ प्रश्न, घोत्लिन नपरोस् कत्ति ।”
यसरी केही अघिसम्म अविस्मरणीय क्षणप्रतिको मेरो बुझाइ यस्तै भइदियो । त्यस्तो खास भोगाइ, जुन मेटिँदैन कहिल्यै स्मृतिबाट । तर हिजोआज म सोच्छु, भोगाइहरू खास हुन पनि सक्छन् अथवा औसत मात्रै । सन्दर्भ उप्किँदा ती सम्झनामा आउँछन् भने ती नै पो हुन् त अविस्मरणीय । अविस्मरणीयको अर्थ बिहान एक बिर्को, साँझ एक बिर्को ओखती खान सम्झिएजस्तो हर समय सम्झिरहने भन्ने त कहाँ हो र ! सम्झनाहरूको विशेषता नै यही हो कि तिनले सन्दर्भको माग गर्छन् । अझ यसो भनौँ सम्झनाको चङ्गा सन्दर्भको लट्टाइमा जोडिएर पर पर उडिबस्छ । जसै खिचिन्छ डोरी अनि नजिकिदिन्छ त्यो, सम्झनाको चङ्गा ।