जलविद्युत्मा लगानीका लागि छुट्टै विद्युत् विकास कोष स्थापना गर्न नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको छ । गत बिहिबार गभर्नर डा. युवराज खतिवडाले ऊर्जा उत्पादकहरूको संगठन इप्पानलाई यस्तो कोषको अवधारणापत्र तयार पारि ल्याउन भनेका छन् । इप्पानले अवधारणा पत्र तयार भइसकेको र आजभोलि नै दिइसक्ने बताएको छ । अवधारणा पत्रका आधारमा राष्ट्र बैंकले कोष स्थापनाका लागि पहल गर्ने इप्पानका सदस्य तथा सानिमा हाइड्रोपावर कम्पनीका महाप्रबन्धक डा. सुवर्णदास श्रेष्ठले बताए ।
इप्पानले गत हप्तामा जलविद्युत्को विकासका लागि विद्युत् विकास कोषको स्थापना गर्नुपर्ने लिखित माग राख्दै ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र पेश गरेको थियो । सो कोष राष्ट्र बैंकको नेतृत्वमा स्थापना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ‘कोष कति रकमको हुने भन्ने निश्चित नभए पनि ठूलो क्षमतामा आयोजना विकास गर्न सकिने गरी कोषको आधार पनि ठूलै हुने अनुमान छ,’ इप्पानका कार्यकारी व्यवस्थापक प्रदीप गंगोलले बताए । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानका अनुसार निजी क्षेत्रले दुई हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था सृजना गरी यसका लागि आवश्यक करिब २ खर्ब ४० अर्ब रुपैयाँ जुटाउन विद्युत विकास कोषको परिकल्पना गरिएको हो ।
वर्ष ५, अंक ४४, २०६७, असार २१– २२