काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने लिलामी प्रक्रियबाट विक्री हुनेछ ।
कम्पनीले भदौ १० देखि ३१ गतेसम्म विक्री गरेको ३५ प्रतिशत हकप्रद शेयर असोज १२ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना शेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज १६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पूरा गरेको छ । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।