लाम्पाटा–दरबाङ सडक निर्माण अलपत्र

मंसिर २७, म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो आठ महीनायता सडक निर्माणको काम ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे ।   ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन’, उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जानकारी दिएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताए । ‘पत्र र मौखिकरुपमा काममा फर्कन ताकेता गरेका छौँ, उनले भने, ‘चैतसम्म थपिएको म्यादभित्र काम सक्न निर्देशन दिएका छाँै । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।’ बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन ओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।   समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करीब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।   मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रू. दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए । रासस

सम्बन्धित सामग्री

म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र, सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य

जेठ १९, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महीनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।  २०७८ वैशाखदेखि मंसिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मुल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।  पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताए । ‘निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ’, उनले भने ‘मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।’  विसं २०७६ जेठ ३१ गते रू. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महीनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करीब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।  सहायक ठेकेदारले रणवाङ र रातोढुंगा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।  ‘दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,’ उनले भने ‘पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।’ सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताए ।  मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।  लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए ।  विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रू. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।  १८ महीनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।  सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।  विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन् । रासस