निषेधाज्ञापछिको पोखरा : चहलपहल बढ्यो, बढेन व्यापार व्यवसाय

कास्की । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुलेसँगै पोखराका बजारमा चहलपहल बढेको छ । तर, व्यापारिक कारोबार भने नबढेको गुनासो व्यवसायीले गरेका छन् । सर्वसाधारणको बढ्दो आगमनले केही उत्साहित बनाए पनि व्यवसायमा खासै सुधार नभएको पोखराको पृथ्वीचोकस्थिते ‘अर्चना एन्ड फ्रेन्ड्ली कलेक्सन’का सञ्चालक किरण बञ्जाराले बताए । ‘बजारमा आवतजावत गर्नेहरू बढेका छन्, तर सामान खरीद गर्न नै आउनेहरू निकै थोरै छन्,’ उनले भने, ‘कपडा पसल मात्र होइन, भाँडाकुडा, मोबाइल, होटल÷रेष्टुराँ लगायत कुनै पनि पसल, व्यवसायमा ग्राहक कम देखिएका छन् ।’ २० वर्षदेखि पृथ्वीचोकमा फेन्सी व्यवसाय गर्दै आएका बञ्जाराले कोरोना संक्रमणका कारण सर्वसाधारको आम्दानीको स्रोत गुमेकाले व्यवसाय चलायमान हुन नसकेको बताए । ‘मानिसको क्रयशक्तिमा ह्रास आएकाले त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो,’ उनले भने, ‘बजार चलायमान हुन सर्वसाधारणको आम्दानीको स्रोत पनि दिगो र नियमित हुनुपर्छ ।’ पोखरा पृथ्वीचोककै अर्का व्यवसायी विजय पाठकको अनुभव पनि बञ्जाराको जस्तै छ । ५ महीनापछि निषेधाज्ञा खुलेर बजारमा मानिसको चहलपहल बढे पनि व्यवसाय मन्दीमै रहेको उनले बताए । ‘कोरोना महामारीका हजारौंले रोजगारी गुमाए, आयस्रोत बन्द भयो,’ उनले भने, ‘त्यो अवस्था अझै सहज बनिनसकेकाले बजारमा किनमेल गर्ने ग्राहक घटेका हुन् ।’ अहिले पसलमा फाटफुट्ट मात्रै ग्राहक आएको उनले बताए । कोरोनाका कारण मानिसको किनमेल गर्ने शैलीमा समेत परिवर्तन आएको बुझाइ उनको छ । पछिल्लो समय अनलाइमार्फत किनमेल गर्नेहरू बढेकाले पनि पसल नै चहारेर किन्नेहरू घटेको हुन सक्ने उनको भनाइ छ । यस्तै बजारमा चहलपहल बढ्दा समेत फलफूल किन्ने ग्राहक घटेको ‘पोखरेल फलफूल पसल’का सञ्चालक रोमप्रसाद पोखरेलले बताए । फलफूल व्यवसाय कोरोना संक्रमणअघिको अवस्थामा पुगिनसकेको उनको भनाइ छ । ‘बजारमा मानिसको चहलपहल निकै बढेको छ,’ उनले भने, ‘तर तुलनात्मक रूपमा कारोबार भने निकै कम छ ।’ एक दशकदेखि फलफूल व्यवसाय गर्दै आएका पोखरेलले कोरोना महामारी हटेर अवस्था सामान्य नबनेसम्म व्यवसाय पुरानै लयमा फर्किन नसक्ने बताए । ‘मौसम अनुसारका फलफूल मण्डीबाट ल्याएर राख्छु, तर फलफूल किन्ने ग्राहक नआउँदा कयौंपटक फाल्नुपरेको छ,’ उनले भने । पृथ्वीचोकमै खाद्यान्नको व्यापार गर्ने केदार श्रेष्ठ पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । ‘मानिसको चहलपहल निकै बढेको छ, तर किनमेल गरेको देखिँदैन,’ उनले भने । यद्यपि पछिल्लो समय कोभिड संक्रमण घट्दै गएको, खोप लगाउनेहरू बढेको र ठूला चाडपर्व समेत नजिकिएकाले व्यापार व्यवसाय बढ्ने आशा गरेको उनले बताए ।

सम्बन्धित सामग्री

अब पोखरासँगै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्छौ

पोखरालाई प्रमुख पर्यटकीय र व्यवस्थित सहरका रुपमा स्थापित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै पोखरा लगायत गण्डकी प्रदेशको पर्यटनले काँचुली फेर्ने धेरैको विश्वास छ। अब विदेशबाट सोझै पोखरा आउने विदेशी पर्यटकले पोखरासँगै गण्डकी प्रदेशका अरु जिल्लाका पर्यटकीय क्षेत्रमा पनि बाक्लो चहलपहल र व्यापार, व्यवसाय बढ्ने अपेक्षा गर्नु […]

कोरोना संक्रमण बढेपछि व्यापार घट्यो

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल सामान खरीद गर्न आउने थोक व्यापारी समेत संक्रमणको डरले यतिबेला आउन सकेका छैनन् । सुध्रिन लागिसकेको व्यापार व्यवसाय कोभिड महामारी बढेपछि पुनः संकटमा पर्न थालेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘व्यापारमा केही सुधार हुन्छ कि जस्तो देखिएको थियो । व्यापारीमा एक किसिमको आशा पलाएको थियो,’ उनले भने, ‘पछिल्लो समय बढ्दो संक्रमणले फेरि निराश बनाएको छ ।’ महासंघका अनुसार काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर लगायत विभिन्न शहरमा व्यापार अवस्था खस्कँदै गएको छ । अहिले गर्मी मौसम शुरू भएको छ । वैशाखमा गर्मी मौसमका लत्ताकपडाको व्यापार ठूलो मात्रामा हुनुपर्नेमा कोभिड संक्रमण बढेकाले अपेक्षित व्यापार हुन नसकेको व्यवसायी बताउँछन् । यससँगै वैशाखमा बिहेको सिजन शुरू हुने भएकाले सौन्दर्य सामग्रीको समेत व्यापार अत्यधिक हुने गथ्र्यो । तर संक्रमण बढ्दै गएपछि यस्ता सामग्रीको व्यापारमा समेत करीब ९० प्रतिशतले कमी आएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् । वैशाखमा निकै व्यस्त रहने सौन्दर्य व्यवसायी यतिबेला फुर्सदिला जस्तै बनेको उनको भनाइ छ । यस्तै विद्युतीय सामग्रीको व्यापार, रेष्टुरेण्ट व्यवसाय, हस्तकलाका सामग्री लगायतको कारोबार पनि करीब ५० प्रतिशतले घटेको बताइएको छ । कुल गार्हस्थ्य उत्पादनमा करीब २२ प्रतिशत योगदान पुर्‍याउने साना तथा मझौला व्यवसायी पछिल्लो समय बढ्दै गएको कोभिड संक्रमणले समस्यामा पर्दै गएको सरोकारवालाको भनाइ छ । नेपाल उद्योग वाणिज्य संघको तथ्यांक अनुसार नेपालमा अहिले ३० लाखको हाराहारीमा साना तथा मझौला व्यवसायी छन् ।